• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

सप्तकोसीको ३३ ढोका खोलियो



सप्तरी । सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो ।

आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । जलाधार क्षेत्रमा भइरहेको लगातारको वर्षाले सप्तकोसीसँगै सहायक नदीहरूमा पनि पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी नदीको चतरामा जलसतह बढ्दो छ । यस्तै तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । मध्याह्न १२ बजे कोसी ब्यारेज भएर दुई लाख दुई हजार चार सय ७५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको थियो । पानीको बहाव क्रमशः बढेसँगै ३३ ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सप्तकोशीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलङ्का टापु डुबानमा परेको छ भने सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढाको बस्ती डुबान भएसँगै विसं २०२३ मा स्थापित श्री शारदा आधारभूत विद्यालयसमेत कटान गरी बगाएको छ । विद्यालयसँगै रहेको स्वास्थ्यचौकी पनि कटानको जोखिममा छ । यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले ब्यारेजका सबै ढोका खोल्न स्थानीयवासीले माग गरेका छन् ।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरूपमा बढ्ने अनुमान गरिएको छ । कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तकोसमा पुनः जलसतह बढ्न थालेकाले जलसतह सतर्कता आसपास पुग्न सक्ने र थप कटान हुनसक्ने भएकाले उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रका बासिन्दामा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । रासस