६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखविरुद्ध ओली सर्वोच्चमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा ९एस० र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको आरोप उनले लगाएका छन्।

पार्टीले कारबाही गरिसकेका सदस्यको हस्ताक्षरलाई मान्यता दिएर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ। ओलीले एकैसाथ तीनवटा रिट दर्ता गराएका छन्। रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् सचिवालय, सभामुख सापकोटा, नेकपा (एस), एमालेबाट निष्कासन गरिएका माधवकुमार नेपालसहित संघीय १४ र प्रदेशका २ गरी १६ जना सांसद र लुम्बिनी प्रदेशका सभामुखसमेतलाई विपक्षी बनाइएको छ।  

नेकपा एमालेले आफ्ना दलका १४ जना प्रतिनिधिसभा सदस्यलाई २०७८ साउन २५ मा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। पार्टीले गरेको निर्णय कार्यान्वयनका लागि भदौ १ मा संघीय संसद् सचिवालयमा सूचना तथा निर्णय दर्ता गराइएकोमा त्यसपछि कानुनबमोजिमको प्रक्रिया अवलम्बन नगरिएको रिटमा दाबी छ। एमालेबाट निष्कासन गरिएका १४ जना प्रतिनिधिसभा सदस्यलाई आधार मानेर नयाँ दल गठन गर्नु गैरकानुनी भएको रिट निवेदकको दाबी छ। ‘नयाँ दल गठन गरी पत्राचार, निर्णय गैरकानुनी भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी आवश्यक परमादेश प्रतिषेधको आदेश जारी गरिपाऊँ’, रिटमा उल्लेख छ। त्यसैगरी निर्वाचन आयोगले सुरुमै दस्तखत नभएका निवेदकलाई पछि सनाखत गराएको, प्रक्रिया नै पूरा नगरी गलत मनसायले बिनाकारण हतारमा छुट्टै दल दर्ता गराएको रिट निवेदनमा दाबी रहेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।