२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरगानी



अ+ अ-

ओरगानी ।

अर्थात्‌ प्रचण्ड उसलाई ‘ओरगानी’ भनेर बोलाउँछ । र ऊ प्रचण्डलाई आन्तरिक गहिराइदेखि नै ‘सदुवा’ भन्न चाहन्छे । (…तर बाहिर:भन्न डराउँछे र बाबु’ भन्छे।)

ओरगानी । अर्थात्‌ उसको वास्तविक नाम बिन्दु’ हो।

ओरगानी ! यो त्यस बेलाको कुरा हो; जुन बेला प्रचण्डले जीवनका १८ वटा वसन्तहरूलाई भाँचिसकेको थियो र बिन्दुलाई ‘ओरगानी’ अर्थात्‌ कमारी बनाएको थियो । त्यही बेलाको कुरा हो; जुन बेला बिन्दुको शरीरमा १४ वटा शिशिरका कुर्कुच्चाहरूले टेकिसकेका थिए ।

प्रचण्डको बाबुले बिन्दुकी आमालाई पनि यसरी नै ओरगानी बनाएको थियो ।

३० वर्षीय उमेरमा जुन बेला बिन्दुकी आमाको शरीर १३ वर्षीय छालाका कलिला बोक्राहरूले ढाकिएको थियो ।

बिन्दुकी आमाको विवाह भएको छैन । बिन्दु येशुखीष्टजस्तै कुमारी आमाको गर्भबाट अनायासै जन्मिन पुगी । … सायद प्रचण्डलाई जन्माउने बाबु नै बिन्दुको बाबु हुन सक्छ।

बिन्दुकी आमा गर्भवती हुनासाथ प्रचण्डको बाउले उसलाई एउटा सोझो चौधरीसँग बात लगाइदिएको थियो । आफ्नी ओरगानीमाथि हातपात गरेको आरोपमा पैसासमेत तिराएको थियो । बिन्दुकी आमाद्वारा आफूलाई ‘सदुवा’ (लोग्ने) भन्ने मौका दिएको थिएन । त्यसको बदलामा उसलाई एक बिगाहा जमीन दिएको थियो ।

प्रचण्ड अहिले ३० वर्षको हुनुको अर्थ बिन्दु २६ वर्षकी हुनु हो ।

उमेरसँगै बिन्दुका आयुहरू झुन्डिएका छन्‌ । आयुका हाँगाहरू लाठिएका छन्‌ ।

भाग्य भनूँ या दुर्भाग्य भनूँ – बिन्दुका कुनै सन्तान छैनन्‌ । सिन्दूर र सुहागरात छैन । पतिको अँगालो र प्रेमका स्वादहरू छैनन्‌ । वैवाहिक जीवनका रहरलाग्दा उन्मादहरू छैनन्‌ । उसकी आमाले जस्तै अहिलेसम्म कुनै परपुरुषसँगको सम्बन्धका बारेमा समाजमा उभिनुपरेको छैन । एक बिगाहा जमीन लिएर उसले छोरी पाल्नुपरेको छैन ।

प्रचण्डले तीनवटी आइमाईलाई पिएको छु – आफ्नो यौवनको तातो कचौरामा राखेर । एउटीलाई उसले सिन्दूरको लहराले तानेर घरमा भित्र्याएको थियो – जसलाई उ सरला भन्ने गर्छ । सरला बिन्दुभन्दा राम्री भए पनि, शील-स्वभावसम्पन्न भए पनि उ उसलाई माया गर्दैन । उसँग चाँडो रिसाउँछ र घृणाको सुइराहरूले यसको मर्म-मर्ममा घोचेर बिन्दुको गाउँ अर्थात्‌ आफ्नो मौजातिर लाग्छ ।

अनि अर्की आइमाई छे – जो राजधानीमा बस्छे । अरूले उसलाई मीना भन्छन्‌, तर प्रचण्ड उसलाई देख्नासाथ ‘मीन्‌’ भनेर उत्तेजित बन्छ । मीनाको विषयमा प्रचण्डका बाबुआमालाई केही थाहा छैन तर बिन्दुको बारेमा उनीहरूलाई सबै थाहा छ । यसलाई उनीहरू छोराको अधिकार सम्झन्छन्‌ ।

प्रचण्डको सानो भूलमा पनि मीना उसको सातो लिन्छे । यसैले मीनासँग उ डराउँछ । मीना त्यति राम्री नभए पनि शृङ्गारमा अति सौखिन छे । वर्षका नब्बे प्रतिशत दिनहरू प्रचण्ड राजधानीमा मीनासँग बिताउँछ । प्रचण्डको आम्दानीमाथि ‘मीनाको अधिकार छ । गाउँमा थुप्रै मौजा भएकोले उसले राजधानीमा आर्जन गरेको रूपैयाँसँग उसका आमाबाबु कुनै सरोकार राख्दैनन्‌ ।

एकपटक प्रचण्डले सरलालाई लिएर राजधानी जाँदा मीना ज्वालामुखी पर्वतको भयानक ‘क्रेटर’ जस्ती बनी । मुखबाट आगो ओकल्दै दुई महिनासम्म बाहिर कतै गएर बसी। मीनाको क्रोधका लाभाहरूलाई चिसो पार्न उसले आफूलाई धेरैचोटि हिउँ बनाउनु पर्थ्यो ।

सरलालाई लिएर मौजा त उ धेरैचोटि गैसकेको छ । त्यतिखेर बिन्दुले सरलालाई मालिक्नी भनेर खुट्टा ढोगिदिने गरेकी छे, राति खुट्टामा तेल लगाइदिने गरेकी छे । बिन्दुले राजधानी – एउटा महानगर र निरीह गाउँको बीचमा एउटा कहालीलाग्दो पृथकृता जन्माइदिएकी छे । यसको बदलामा प्रचण्ड उसलाई बेलाबेलामा २०-३० रूपियाँ दिने गर्छ।

बिन्दु अहिलेसम्म किन गर्भवती भइन ? आजभोलि प्रचण्डलाई यही कुराले पिरोलेको छ । उसले आफ्नो शारीरिक स्थितिको बारेमा धेरैचोटि प्रश्न गर्यो, तर आफूमा कनै दुर्बलता भेटेन । उसले बिन्दुको बाबुलाई हप्कायो र यदि बिन्दुले कुनै सन्तान जन्माइन भने अर्की ‘ओरगानी’ राख्ने धम्की दियो । फकायो पनि बिन्दुको नाममा दुई बिगाहा जमीन दिन्छु भनेर । तर परिस्थिति प्रचण्डको पक्षमा कहिल्यै गएन – जाँदै गएन । उसले एक रात बिन्दुलाई फकाउँदै उसको नाममा चार बिगाहा जमीन दिने वाचासमेत गर्यो । बिन्दु बोल्दै बोलिन, केवल उसको गोडा मिचिरही ।

केही नलागेपछि प्रचण्ड सहर (नेपालगञ्ज) फर्कियो र घरमा आएर सोच्न थाल्यो र उसको सोचाइले अब मौजामा गएर अर्की ‘ओरगानी’ राख्ने नतिजा निकाल्यो ।

भोलिपल्टै ऊ फेरि मौजातिर लाग्यो । बौलाएको हुरीजस्तै बनेर बिन्दुको घरभित्र पस्यो र ‘बिन्दु खोइ’ भनेर उसको बाबुलाई सोध्यो ।

उ बोल्दै बोलेन, प्रचण्डले फेरि सोध्यो – ढुङ्गो बोल्ला, तर उ बोलेन । प्रचण्डको प्रश्नको जवाफ उसले आँसुले दियो । प्रचण्डले प्रश्न बदल्यो – के भयो बिन्दुलाई ? उसको बाबुले उत्तर दिएन – उत्तर दिनै सकेन ।

‘कहाँ भगाइस्‌ आफ्नी छोरीलाई ?’ प्रचण्ड कठोर बन्यो । ऊ अझै बोलेन । ‘कोसँग लगाइदिइस्‌ ?’ प्रचण्डले पुन: प्रश्नमाथि प्रश्न गर्दैगयो – ‘कहाँ गई? त्यो कहाँ गई… ?’ ‘बिन्दु आज बिहानैदेखि घरमा छैन मालिक ।’ उसले कामेको स्वरमा जवाफ दियो। प्रचण्ड त्यहाँबाट घाइते सिंहजस्तो बनेर नेपालगञ्ज फर्कियो । घरमा आएर उसले आफ्नी ओरगानी लैजाने व्यक्तिलाई रकम तिराउन नाम खाली राखेर कागज तयार पार्यो र त्यसलाई खल्तीमा राखेर घरमा कसैसँग नबोली ऊ गगनगञ्ज (देहव्यापार-केन्द्र) तिर लाग्यो।

 दलालले थुप्रै रक्सी पियो प्रचण्डको तर्फबाट । प्रचण्ड दलाल खुसी पारेर आजको लागि एउटी तरुनी आइमाई लिन चाहन्थ्यो ।

चाहेमुताबिक पिउन पाउँदा दलालले साह्रै खुसी भएर भन्यो ‘बाबूसाहेब यो कम्तिया अरूको नमक खाएपछि नमकहरामी गर्दैन । आज बिहान मात्रै गाउँबाट आएकी, अहिले त्यसलाई मैले मेरै घरमा लुकाएर राखेको छु। अघिपछिको भन्दा पाँच गुना बढी पैसा चाहिन्छ, अनि मात्र त्यसलाई हजूरको जिम्मा लगाउँछु नत्र त हुँदैन । अहिले भर्खर इनिस्पेक्टर आउँदा त मैले त्यसलाई देखाइन तिनीहरू पैसै दिँदैनन्‌ सालाहरू ।’

प्रचण्डले खल्तीबाट सयको नोट निकालेर दलालको हातमा राखिदियो । दलाल लरखराउँदै आफ्नो घरतिर लाग्यो । प्रचण्ड पनि उसको पछिपछि लाग्यो । खल्तीबाट साँचो निकालेर कोठाको ढोका खोलेपछि दलाल अर्कै कोठातिर प्रस्थान गर्थयो । तृषित आँखा र उत्तेजित मन बोकेर प्रचण्डले आफ्नो थाकेको शरीरलाई कोठाभित्र पसायो । कोठाको एउटा कुनामा मैलो ओढ्ने ओढेर मुख छोपेर बसेकी एउटी केटीको देहमाथि उसका आँखाहरू चिप्लिन. थाले । प्रचण्ड बिरालोझैँ उसको नजिकै पुग्यो र मैलो ओढ्ने हटायो । ऊ अचम्मसँग झस्कियो – ‘ओरगानी !’ …

केही बेरपछि उ बौलाहाजस्तो बनेर बिन्दु अर्थात्‌ ओरगानीलाई पार्न थाल्यो ओरगानी कुनै प्रतिक्रिया व्यत्त नगरी चुपचाप बसीरही । घरमा लेखेको कागज खल्तीबाट निकालेर प्रचण्डले धुजाधुजा पार्यो र वितिल खोजीको अन्तिम सरासर फेरि मौजातिर लाग्यो । सायद उसको यो यात्रा अर्कि ओरगानीको खोजीको अन्तिम यात्रा हुनसक्छ ।