१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाक्षेत्रमा बढ्यो कोरोना सङ्क्रमण



अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको जोशीले बताउनुभयो ।

जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उहाँले भन्नुभयो, “सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरी परीक्षण र खोपको काम निरन्तर रुपमा भइरहेको छ ।”

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रुपमा भइरहेको जनाइएको छ ।

भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५६ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ८१६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।