२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

बगिरहेछ हेलम्बु पहाड, रातभर सुत्दैनन् स्थानीय

बगिरहेछ हेलम्बु पहाड, रातभर सुत्दैनन् स्थानीय
अ अ+ अ-

हेलम्बु । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुबासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरु ।  

शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो जहाँबाट बाढी र पहिरालो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो । माथिबाट चियाउँदा लाग्थ्यो खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ । अहिले पनि अर्थात् विना वर्षा नै पनि ठाउँठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ । जंगलबीचका सेतो कमेरे माटोका धर्साहरु त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।  

कतिपय स्थानमा चोइटिएका पहाडबाट सुख्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुंगा माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्ग्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन । 

“थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुबासी जोखिममै दिन काट्न बाध्य छन्”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो । 

यसो बाहिरबाट हेर्दा नै मक्खिए झैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रुप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन । 

माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिएपनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अबस्थामा फर्काउने प्रयास पनि भैरहेका थिए । 

मेलम्ची नगरपालिका ११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्स्साभेटर लगाएपछि अहिले घरको भुईँतला फेला पार्नुभएको छ । मजदुर लगाएर घर खोतल्दै गरेकी उहाँलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन । 

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । अनि कति घरको चार तलासम्म बगर भरिएको उहाँले सुनाउनुभयो । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरु अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छ्न । 

गएको असार १ र १६ गते आएको भिषण बर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो हेलम्बु गाउँपालिका– २ को गणेशेबगर । नामको बगरलाई साँच्ची कै बगरमा परिणत भएपछि यहाँका ४५ परिवारका घर खेतमा खोला हिँडेको छ । केही घर खोलामा पल्टिएर बसेको छ । केही बगरभित्र पुरिएको छ केही घरको त निशाना नै नामेट छ । पीडित स्थानीय भने त्यही भग्नावशेषमा हिँडेको खोलो टुलुटुलु हेरेर बसेका छन् । उनीहरुका पक्की घरबाट खोला हिँडेको छ तर उनीहरु भने केही माथि अस्थायी टहरामा बसिरहेका छन् । 
“अब हामी कतिन्जेल अस्थायी टहरामा बस्ने, हामीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिनुपर्यो” आज गृहमन्त्री बालकृष्ण खाँडसामु बाढीपिडित राम तामाङले अनुनय गर्नुभयो । उहाँले समूहमा मिलेर खाना खाने गरे पनि दैनिक जीवनयापनमा ठूलो समस्या परेको दुखेसो पोख्नुभयो । गृहमन्त्री खाँडले अवश्यक व्यवस्थापनका लागि सरकार गम्भीर रहेको र छिटै निकास पाउने आश्वासन दिएर फर्कनुभएको छ । उहाँले विपद व्यवस्थापनमा लागेका सङ्घसंस्थालाई तत्काल गर्नुपर्ने कामका विषयमा योजना तयार पारेर काम गर्न समेत निर्देशन दिनुभएको छ । “सबैभन्दा पहिलो कुरा बाटो, पुल, राहत, उद्धार, गाँस र वासस्थानलगायत हो, त्यसलाई कसरी हुन्छ सम्भव गर्नुपर्यो, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेललाई गृहमन्त्री खाँडले भन्नुभयो । 

हवाई तथा स्थलगत निरीक्षण अध्ययनपछि गृहमन्त्री खाँडले त्यस क्षेत्रमा कमलो भूबनोटका कारण लेदो आएर तहसनहस पारेको बताएँदै तत्कालका लागि अत्यावश्यक ठाउँमा कजवे, झोलुङ्गे पुल बनाइहाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“कतिपय ठाउँमा बस्ती बस्न नसक्ने छ, त्यहाँका मानिसलाई नयाँ घर नै बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सिन्धुपाल्चोकलाई बाढी पहिरो र भुकम्पले विपद् निम्त्याइरहनु दुखद छ ।” दीर्घकालीन समाधानका लागि माथिदेखि नै चेकड्यामको आवश्यकता महसुस गर्नुभएका गृहमन्त्री खाँडले पुनःनिर्माण प्रारम्भ गर्न छुट्टै कार्य योजनासहित काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बस्तीतर्फ धार सोझ्याउँदै छन् कोसी र कमला

पहाड र हिमाली क्षेत्र पहिराले ठूलो जोखिम छ । हेलम्बु, मेलम्चीलगात धेरै पहाडी र हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराइमा डुवानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्काे चुनौतीको विषय बनेको छ ।
 
यसपाली पनि सुनसरीको चतराघाटको सिमानामा पर्ने उदयपुरको बेलका नगरपालका ८ डुम्रीबोटमा झण्डै डेढ किलोमिटर क्षेत्र सप्तकोसीले कटान गरिसकेको छ । “केही अघिको बाढीले त्यस क्षेत्रमा १०० मिटर भित्र पसिसकेको छ भने अब २० मिटर मात्रै काट्न पाएको भए नदीको धार नै परिवर्तन हुन्थ्यो”, स्थानीय राजकुमार चौधरीले भन्नुभयो ।

त्यस क्षेत्रबाट २०३४ साल अघि सप्तकोसी हिँडेको थियो । पछि धार परिवर्तन भएर सप्तकोसी मोडियो । सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव भन्नुहुन्छ, “अहिले नदीले त्यही पुरानो बाटो खोज्दै छ, बेलैमा ध्यान पुगेन भने यहाँबाट नदी छिर्दा, त्यसभन्दा तल्लो तहका धेरै बस्ती बग्नेछ ।” 
उक्त क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि गृहमन्त्री खाँडले जलवायु परिवर्तनका कारण नदीले धार परिवर्तन गरिरहेको उल्लेख गर्दै, पहिलो कोसीले पूर्व क्षेत्रमा कटान गरेकोमा पछिल्लो समयमा पश्चिम क्षेत्रमा धार परिवर्तन गर्न खोजिरहरको छ भन्नुभयो । उहाँले कोसी बाढी डुवानबाट जनतालाई कसरी सुरक्षत बनाउने भन्ने मै सरकारको ध्यान रहेको बताउनुभयो । त्यहाँ कटान भएमा तल्लो तहका बस्तीका ३०० बढी घरलाई प्रभावित पारिहाल्छ । 

यता कमला नदीले पनि धनुषा र सिरहाको धेरै क्षेत्रमा असर गरिहेको छ । कटान गरेर ठाउँठाउँमा धार परिवर्तन गर्न खोजिरहरको छ । धनुषाको सबैला नगरपालिका १३ किरतपुरमा मात्रै एक हजार १०० मिटर बाढीले कटान गरेको छ । 

सप्तरी क्षेत्रमा चार वटा र धनुषापट्टी तीन वटा एक्साभेटर प्रयोग गरेर नदी खोल्ने र खोला फर्काउने काम गरिएको थियो । त्यही बेला सुरक्षाकर्मी र स्थानीयहरु मिलेर हजारौँ बोरामा बालुवा भरी नदी कटान नियन्त्रण गरेका थिए । त्यसकारण साउनको पहिलो हप्ता आएको बाढी बस्तीमा पस्न नपाएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई बताउनुहुन्छ । त्यहाँबाट नदी पसेमा भने सबैला नगरपालिकाको तीन र मदन नगरपालिकाको पाँच वटा वडा, शहीदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका विभिन्न वडा तथा भारतको जयनगरसमेतलाई असर गर्ने पनि उहाँले सुनाउनुभयो । त्यसले कम्तिमा २७ हजार घरधुरीका एक लाख बढी मानिसलाई प्रभावित बनाउने अनुमान गरिएको छ । 

अहिले अस्थानी तटबन्धका लागि करिब साढे २ करोड रुपैयाँ खर्च भएको छ । यहाँ स्थायी तटबन्धका लागि भने रु ४० करोड माथि लाग्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा पनि गृहमन्त्री खाँडले स्थलगत निरीक्षण तथा अनुगमन गरी जानकारी लिनुभएको थियो । 

“साझा प्रयत्नले ठूलो दुर्घटना हुनबाट जोगिएछ, अब यसलाई स्थायी तटबन्ध बनाउनुपर्छ, त्यसप्रति सरकार गम्भीर छ”, स्थानीयको मागप्रति मन्त्री खाँडले आश्वासन दिँदै भन्नुभयो । सानो तिनो प्रयासले हुन्न गम्भीरतावूर्पक कदम चाल्नुपर्ने देखिएको पनि उहाँले बताउनुभयो । उहाँसँगै आज हवाइ तथा स्थलगत निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, हेलम्बु गाउँपालिकका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, पुर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उप महानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता थियो । नारायण ढुङ्गाना/ रासस