१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवरात्रि किन र कसरी मनाउने ?



अ+ अ-

नेपालले पशुपतिलाई निमन्त्रण गरी वाग्वतीको किनारमा, हलेश्वरलाई खोटाङमा, जलेश्वरलाई धनुषामा, वैद्यनाथलाई बझाङमा, नीलकण्ठलाई गोसाइँकुण्डमा आसनग्रहण गरायो । नेपाल मुख्यतः शिव र शाक्तको संयोग भूमि हो, वौद्ध र किरातको मिलन केन्द्र हो । यहाँ किरात, शाक्त, वैष्णव र बौद्धभित्र शैवको झझल्को भेटिन्छ । नेपालका हरेक पहाड, देउराली, नदीकिनार, खोच र मशानघाटमा शिवको अस्तित्व छ । यसैले शिवसम्बन्धी अनुष्ठान र साधना नेपालमा अधिक छ । मच्छेन्द्रनाथ हुन् कि गोरखनाथ हुन्, दत्तात्रेय हुन् कि शंकराचार्य, हनुमान् हुन् कि रुद्र सबै शिवका स्वरुप हुन् । यसकारण नेपालको राजनीतिदेखि धर्मनीतिसम्म, अनुष्ठानदेखि उपासनासम्म शैवधर्म, तन्त्र वा परम्परा झल्कन्छ । नेपालको संस्कृति एवं नेपालीको जीवनपद्धतिमा शिवको कुनै न कुनै सुवास छ, दर्शन देखिन्छ, परम्परा परिहाल्छ । ६४ शिवलिङ्ग नेपालमा नै छन र महाज्योतिलिङले नेपालमा नै आश्रय लिए । यसैले शिवअनुष्ठान नेपालमा विशेष रुपले हुन्छ ।  

ऋग्वेदले उषाकी बहिनीलाई रात्रि भनेको छ । ऋग्वेदमा रात्रिसँग अक्लिष्ट रूपी तम (अँध्यारो, अज्ञान)लाई आउन नदेऊ भनी प्रार्थना गरिएको छ  । रात्रिको अर्थ ज्ञान पनि हुन्छ । शिवसँग सम्बद्ध रात्रिलाई शिवरात्रि भनिन्छ । (उपमापेपिशत्तमः कृष्णं व्यक्तमस्थिता । उषऋणेवयातय ।।–ऋग्वेद (१०।१२७।७)  शिवरात्रिमध्येको सर्वोत्कृष्ट रात्रि महाशिवरात्रि हो । साधना र ब्रह्मचिन्तनका लागि पौरस्त्य परम्परामा मोहरात्रि, कालरात्रि, सुखरात्रि, शिवरात्रिको विशेष महत्व छ । फाल्गुन ११ औँ महिना हो, रुद्र पनि ११ छन् त्यसैले फाल्गुनकृष्ण चतुर्दशीलाई शिवरात्रि भनिन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् । यसैले चतुर्दशी तिथिमा शिवसँग सम्बद्ध अनुष्ठान गरिन्छ । ‘शिवस्य रात्रिः शिवरात्रि’ अर्थात् शिवको रात्रि नै शिवरात्रि हो । शिवको अर्थ ‘परमात्मा’ र रात्रिको अर्थ ‘ज्ञान’ हुन्छ । जुन दिनको साधनाबाट परमात्माको बोध हुन्छ त्यसलाई शिवरात्रि भनिन्छ ।

    शिवरात्रिसमं पुण्यं नास्ति यज्ञसहस्रकैः ।
    मासे मासे कृष्णपक्षे या भवेच्च चतुर्दशी ।।
    शिवरात्रिस्तु सा ज्ञेया व्रतानामुत्तमोत्तमा ।।  
                             –अपराजितपृच्छा (३१।३९–४०)

अर्थात् “शिवरात्रिको समान पुण्य हजारौँ यज्ञ गर्दा पनि प्राप्त हुँदैन । प्रत्येक महिनाको कृष्णचतुर्दशीलाई शिवरात्रिसमान सम्झिएर व्रत गर्नु उत्तम हुन्छ ।” एक वर्षमा शिवा, शान्ता, सिद्धिदा, जया, मनोरमा, कान्ता, आह्लादा, सौम्या, शुभा, मणिप्रभा, विश्वा र विश्वकृदुद्भवा नाम गरेका बाह्रवटा चतुर्दशीहरू प्रसिद्ध छन्, यिनीहरू मंसीर महिनाबाट आरम्भ भएर कार्तिक महिनामा पूर्ण हुन्छन् । अपराजितपृच्छा (३१।३१–३२)  रात्रि शब्दमा रहेको ‘रा’ ले ऐश्वर्य र ‘त्र’ ले ‘रक्षा’ गर्नु भन्ने बुझाउँछ ।

“शिव एवं रा धनं तत् त्रायतेति शिवरात्रम्” अर्थात् शिवस्वरूप परमात्माले जसको धन रक्षा गर्नुहुन्छ त्यस्तो शुभ रात्रिलाई शिवरात्रि भनिन्छ । राती जन्मिए पनि ‘जन्मरात्रि’ भनिँदैन जन्मदिन मनाउने चलन छ । शिवसँग जोडिएको रात्रि शब्दको ‘रात वा अन्धकार’ नभई धन, ज्ञान, आनन्द भन्ने अर्थ हुन्छ । शिवले जीवात्माको कल्यार्ण अनुकम्प गर्नेविशेष रात्र नै शिवरात्रि हो । जुन रात्रमा साधना गरेर सजिलै परमात्माको साक्षात्कार गर्न सकिन्छ, सबै किसिमका इच्छा पूर्ण गर्न र अभ्युदय प्राप्त गर्न सम्भव हुन्छ, त्यसलाई शिवरात्रि भनिन्छ ।
    
शिवरात्रिका दिन महिलाले मात्र होइन जसले पनि व्रत बस्न सक्छ । स्वास्थ्य, उमेर, स्थान आदिलाई ध्यान दिई जलाहार, फलाहार, निराहार जो आफूलाई अनुकूल हुन्छ त्यसै प्रकारले व्रत बस्न सकिन्छ । गाँजाहार, धतुरोआहार, चरेशाहार गरी व्रत बस्ने हाम्रो परम्परा र शास्त्रमा छैन । महादेवले गाँजा खान्छन् भनेर गाँजा खाने हो भने महादेवले सर्पका माला लगाउँछन्, कम्मरमा बाघको छाला बेरेर हिमालमा एवं खरानी घसेर मशानघाटमा बस्छन्, गणेश एवं दक्षप्रजापतिमा क्रमशः हात्ती तथा बोकाको टाउको जोड्छन्, कालकुट विषको सेवन गर्छन्, के त्यो काम हामी गर्न सक्छौँ ? शास्त्रको मूलमर्म नबुझेर देवीदेवतामाथि आरोप थोपर्नु न्यायसङ्गत हुन सक्दैन । महादेवबुटी मानेर मादक पदार्थ सेवन गर्नु महाअपराध हो । शिवरात्रिमा उपवास, रात्रि जाग्रम र शिवपूजा गरी तीन विधिबाट शिवको अनुष्ठान गरिन्छ । चाण्डालदेखि मनुष्यसम्म सबैले शिवरात्रिमा व्रत बस्दा इच्छाएको फल प्राप्त हुनका साथै मुक्ति पनि प्राप्त हुन्छ । (शिवरात्रिव्रतं नाम सर्वपापप्रणाशनम् । आचाण्डालं मनुष्याणां भुक्तिमुक्तिप्रदायकम् ।।–माधव ईशानसंहिता)  शिवरात्रिको महिमा कति छ भन्ने बारेमा शिवपुराण(कोटिरुद्रसंहिता, ३७ अध्याय)को एउटा कथालाई यहाँ साभार गरिएको छ ।

कुनै वनमा गुरुद्रुह नामको हत्या र कुकर्म गर्ने दुष्ट एवं बलवान् भिल्ल बस्दथ्यो । मृगहरू मार्ने र चोरी गर्ने कार्यबाट परिवारको पालनपोषण गथ्र्यो । एकपटक शिवरात्रिको दिन उसका परिवारले भोकले व्याकुल छौँ, खाने कुरा देऊ भने । गुरुद्रुह तुरुन्तै धनुष लिएर वनमा गयो । दिनभर अनेक प्रयास गर्दा पनि दैवसंयोग केही पाएन, सूर्य अस्ताए । अत्यन्त दुःखित भएर जलाशयका नजिकमा राती जनावर आए शिकार गरी घर जाउँला भनी बेलको रुखमा चढेर बस्यो । रात्रिको पहिलो प्रहरमा एउटी मृगिणी तिर्खाले आत्तिएर त्यहाँ आई । भिल्लले धनुमा बाण चढाउन लाग्दा रुखको हाँगो हल्लिएर उसले लिएको जल  (पानी) र बेलपत्र खसेर शिवलिङ्गमा पर्यो । सौभाग्यवश भिल्ललाई ज्ञान नभएर पनि शिवको पहिलो प्रहरको पूजा हुन गयो र सारा पाप नष्ट भए । झिल्ललाई देखेर मृगिणी डरले व्याकुल हुँदै भनी “हे व्याधा ! तिमी के गर्न चाहन्छौँ ?”

भिल्लले भन्यो, “मेरा परिवार भोकै छन्, तँलाई मारेर उनीहरूलाई खुवाउँछु ।”

मृगिणीले – “अनर्थ गर्ने यो शरीरको मासुले तिमीलाई सुख हुन्छ भने मेरा लागि अर्को के पुण्य हुन्छ र ?  तर मेरा बच्चाहरूलाई अन्तिमपटक भेट गरी स्वामीको जिम्मा लगाएर आउनेछु यसमा शड्ढा छैन ।” भनी भिल्लसमक्ष बाचा गरी ।

व्याधाले विश्वास गर्यो र छोडिदियो । राती अबेरसम्म घर नफर्केको हुनाले मृगिणीकी बहिनीहरूले उसलाई खोजी गर्दै पानी पिउन आए । व्याधाले पहिलाजस्तै बाण उठाउन खोज्दा जल एवं बेलपत्र शिवलिङ्गमाथि पर्यो र दोस्रो प्रहरमा पूजा भयो । यसबाट व्याधाले सुख प्राप्त गर्यो । बहिनी मृगिनीले व्याधालाई देखेर जीवनयाचना गरी । व्याधाले पहिलेजस्तै वाचा गरी छोडिदियो । प्रतिज्ञा गरेर आएका ती सबै मृगिणीहरूले एक अर्कासँग सम्बन्धित घटना सुनाए । उनीहरूले प्रतिज्ञा गरेको हुनाले जानैपर्छ भन्ने अठोट गरेर  । जेठी मृगिणीले आफूमात्र जाने कोशिस गरी । जेठीको कुरा सुनेर कान्छी भन्छे – “म  तपाईकी सेविका हूँ त्यसैले म जान्छु ।”

मृग र मृगिणीहरूले  आफ्ना सन्तानलाई सम्झाई छिमेकीहरूको जिम्मा लगाएर व्याधा भएका ठाउँमा गए । तिनीहरूलाई देखेर व्याधाले खुशी हुँदै धनुमा बाण चढायो । रुखको हाँगो हल्लिएर फेरि शिवलिङ्गमाथि जल र बेलपत्र पर्यो । शिवपूजाका प्रभावले उसलाई दुर्लभ ज्ञान प्राप्त भयो । व्याधाले भन्यो – “हे मृग श्रेष्ठ हो ! तिमीहरू धन्य छौँ, आफ्ना आश्रममा जाओ ।” अज्ञानवश भए पनि परिस्थितिले गर्दा शिवपूजा गरी व्याधाले मुक्ति पायो । विधिविधान र श्रद्धारहित भएर गरेको शिवपूजाबाट त फल मिल्छ भने श्रद्धाभक्तिसहित गरेको शिवपूजाबाट अनेकौँ लाभ प्राप्त हुन्छ । यस्तो महानीय रात्रि नै शिवरात्रि हो ।  

    तस्य रात्रिः समाख्याता शिवरात्रिः शिवप्रियाः ।
    तस्यां सर्वेषु लिङ्गेषु सदा संक्रमते हरः ।।
    यानि कानि च लिङ्गानि चराणि स्थावराणि च ।
    तेषु संक्रमते देवि तस्यां रात्रौ यतो हरः ।।
    शिवरात्रिस्ततः प्रोक्ता तेन सा हरबल्लभा ।
                    –कालमाधव (पृ. ३६६)

अर्थात् “यो रात्रि शिवजीको रात्रि भएकाले शिवको प्रिय छ । यस रात्रि सबै लिङ्गहरूमा शिव रहनु हुन्छ । जो चर र स्थावरलिङ्ग छन् सबैमा त्यो रात शिव रहने भएकाले हे देवी ! उस शिवरात्रिको हरबल्लभाको नामले चिनिन्छ ।” यस रात्रिमा शिवलाई छिट्टै प्रसन्न बनाउन अति अनुकूल भएकाले मानिसहरू राती जाग्रम बस्ने, धुनी ताप्ने, शिवसम्बन्धी भजन गाउने, रुद्राक्षका मालाले मृत्युञ्जयलगायतका मन्त्र जप्ने गर्दछन् । ‘शैव, वैष्णव वा अन्य जसको पूजक भए पनि शिवरात्रिमा शिवको पूजा गरे भने सबै पूजाको फल प्राप्त हुन्छ ।(शैवो वा वैष्णवो वाSपि यो वा स्यादन्यपूजकः । सर्वपूजाफलं हन्ति शिवरात्रिबर्हिमुखः ।।–पुरुषार्थचिन्तामणि, (पृ. ३१६))  शिवरात्रिको साँझपख शिवधुनीका रूपमा दोबाटो–चौबाटोमा आगो बालिन्छ । धुनी जागरणको प्रतिक हो । अहिले धुनीमा बसेर शिवको चिन्तन गर्नुभन्दा गाँजा तान्ने विकृति बढेको छ । महादेव खरानी घस्छन् । धुनीबाट खरानी प्राप्त हुन्छ । महादेवलाई धुनीप्रिय भएको देखाउन यस्तो गरिएको हो । शिवरात्रि साधना गर्ने रात्रि हो, ज्ञान र ऐश्वर्य छिटै प्राप्त गर्ने रात्रि हो, अनेकौँ जन्ममा संकलन भएका पापलाई नाश गर्ने रात्रि हो । भावनात्मक रूपले हृदयमा शिव राखेर प्रार्थना र चिन्तन गर्ने दिन हो । हाम्रा पर्वले परमात्मासँग जोड्न सिकाउँछ, मादक पदार्थ पिएर समाजमा वितण्डा मच्चाउन लगाउँदैन । यसैले शिवजस्तै सत्यं शिवं सुन्दरं हुनका लागि शिवरात्रिमा शिवको साधना गर्नुपर्छ । महादेवले सबै प्रकारका नशा, विष र विकारलाई लिएर जगत्को कल्याण गर्नुहुन्छ ।

    बकेन विल्वपत्रेण वरदोùस्मि विशेषतः ।
    मोक्षो धत्तूरकेणापि करवीराद् धनप्रदः ।।
                        –नेपालमाहात्म्य (१४।८२)

अर्थात् “गुमपाती र बेलपत्र अर्पण गर्नेलाई विशेष वर दिन्छन्, धतूरो चढाउनाले मोक्ष हुन्छ, करवीरले पूजे धन प्राप्त गर्दछ ।” धतूरोका पात, जरा, काण्ड, फूलको के महत्व छन् भन्ने तथ्यमाथि अनुसन्धान हुन आवश्यक छ । जस्तै पारिजातको फूलले सर्पलाई निकै आकर्षित गर्ने हुनाले यसको वरिपरि अँध्यारोमा हिँड्दा विचार गर्नुपर्छ । अपशोच र आश्चर्यका विषय के छ भने केही वर्षयता धतूरोलाई औषधि नभई नशाको रूपमा उपभोग गर्न थाले । पश्चिम नेपालको पहाडीक्षेत्रमा  पाइने महजरी नामको वनस्पतिलाई जाँड बनाउन प्रयोग गरिन्छ । आयुर्वेदले विषलाई औषधि बनाउन सिकाएको छ विडम्बना हामी औषधिलाई विष बनाएर खाने दुर्मतिमा लागेका छौँ ।

औषधिमा टेक्ने, इतिहासलाई छोप्ने, धर्मलाई डुबाउने, राष्ट्रलाई भुल्ने रोगले हामी ग्रस्त हुन पुग्यौँ । हजारौँ बेलको पातभन्दा एउटै गुमपाती विशेष हुन्छ, हजारौँ गुमपातीभन्दा एउटै धत्तुरो उच्चकोटिको मानिन्छ । (विल्वपत्रसहस्रेभ्यो वकपुष्पं विशिष्यते । वकपुष्पसहस्रेभ्यो एकं धतुरकंपरम् ।। पशुपतिमतम्, (प्रथमखण्ड ५।७७)) धतूरोको फूलले वातावरणलाई स्वच्छ बनाउनका साथै शिव र महादेवलाई प्रशन्न तुल्याउँछ । भविष्यपुराणमा भनिएको छ “जसले धतूरो अर्पण गरी शिवलिङ्गको पूजा गर्छ उसले एक लाख गाई दान गरेको पुण्य प्राप्त गरी देहत्यागपछि शिवलोकमा बास गर्दछ ।” यदि सामग्रीको अभाव भएमा शुद्ध भावले मनलाई चढाउने, दुःखलाई अर्पण गर्ने, श्रद्धालाई समर्पण गरी शिवरात्रिलाई मनाउनुपर्छ । शिवरात्रि एकप्रकारले जागरणको रात्रि हो । जो जाग्छ त्यसले अरुलाई जगाउँछ त्यसैले शिवरात्रिमा महादेवलाई सम्झनेमात्र होइन पुर्खाको इतिहास, ऋषिहरुको योगदान, मुनिहरुको ध्यानलाई स्मरण गर्नेे दिन पनि हो ।