२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

स्मृतिमा बाः साहसको धुरी मेरा बा !

स्मृतिमा बाः साहसको धुरी मेरा बा !
अ अ+ अ-

असोज १८ गते २०७५ । अनन्तराज पौडेल अर्थात् मेरा बाले छोडेर जानुभयो हामीलाई । आमा अनि हामी १३ जना छोराछोरी टुहुरा भयौँ ।  असोज १९ गते देवघाटको दोभानमा दाहसंस्कारसँगै बाको शरीर खरानी हुँदै गर्दा मेरो हिम्मत, मेरो साहस, मेरो आत्मविश्वास, मेरो भरोसा, मेरो सम्पूर्णता दन्किरहेको थियो विशाल ज्वालामा । संरक्षकत्वको बलिष्ठ अँगालोबाट फुस्कँदै गएकी थिएँ म । बालाई पनि उहाँका अङ्गअङ्गले छोड्दै गएका थिए ।

देवघाटको तीरमा चिताबाट धुवाँ मात्रै उडिरहेको थिएन, त्यसमा बा र मेरा कैयौँ सपना उडेका थिए । त्यो धुँवा माथि माथि पुगेर बिलाउँदै थियो । मेरो जीवनको आडभरोसाको मूल खामो, मार्गदर्शक, पथप्रर्दशक सबै सबै टाढिँदै थिए । दुःख पर्दा मान्छेले सम्झने भनेका दुई तस्वीर छन् । एउटा निर्जीव र एउटा सजीव । ढुङ्गाको मूर्तिसँग मान्छे अझै पनि डराइरहेछ । विश्वास गरिरहेछ । जति नै नास्तिक किन नहोस्, भगवानको मन्दिर नजिक पुगेपछि स्वचालितरुपमा उसको शीर निहुरिन्छ । अनि बाआमाका अगि ।

ठेस लाग्दा मान्छे ‘ऐया नि बाबा ! ऐया आमा !’ भन्छ । अथाह पीडा भएपछि ‘भगवान् !’ नभनी छोड्दैन स्वचालित रुपमा । यसरी गाँसिएको हुन्छ बाआमा र भगवानसँग मान्छेको सम्बन्ध निरन्तर जीवनभरि । तीन वर्षअघि सोह्रश्राद्धको दशमी तिथिमा बाले सधैँका लागि छोडेर जानुभयो । ‘सोह्रश्राद्धका १६ दिन पितृकार्य गरिने भएकाले राम्रो मरण’ भने पुरोहित र ज्योतिषहरुले । तर, मृत्यु आफैमा कसरी राम्रो हुन्थ्यो ? मुटु गाँठो पारेर हामीले मानिदियौँ पुरोहितहरुका कुरा ।

अभावको चरित्र नै पीडा हो । बाको अभावले सधैँ दुखी बनाउँछ । तर, कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन आउँछ, सम्झनाले दिने दुःख र अभावले दिने पीडाको मूल्य चर्को बन्दो रहेछ । मृत्युको सम्झना, चुँडिएको मायाको तिर्सना एकान्तमा झनै गाढा बनेर आउँदो रहेछ ।  बाले छोडेर गएदेखि मलाई जमघट भन्दा एकान्त नै प्रिय लाग्न थालेको छ ।  बन्द कोठामा बाको फोटो हेरेर सम्झिरहेकी छु ती दिन । बा का सम्झनाका छालहरुले हुत्याइरहेछ निरन्तर । 

हुन त बाका केही केही कुरा मानिनँ मैले । मेरा गुनासा बाले सुन्नु पनि भएन । बाका कुरा र मेरा गुनासाको बहस समयसँगै गर्नु थियो हामीलाई । समयले बाका कुरा सही बनायो, मेरा गुनासा पनि जायज प्रमाणित भए । तर, हामी दुवैले स्विकार्न बाँकी नै थियो । बासँग समय थिएन, मैले रोजेको बाटो पक्की बनेको हेर्ने । पर्खिन दिएन नियतिले । समयले मलाई पनि दिएन बा हुँदै आफूले लिएको बाटो मजबुत रहेको प्रमाणित गर्न । सबैभन्दा दुष्ट भनेकै समय रहेछ, जसले पटक पटक परीक्षा लिइरहेछ ।

म विकासे भाषामा ‘समविकास’ को कुरा गर्थें, बा धर्म र संस्कारसहितको समानताको कुरा गर्नुहुन्थ्यो । गन्तव्य एउटै थियो तर त्यहाँ पुग्नका लागि हामीले राम्रो ठानेको बाटो अलग । गन्तव्य एउटै भएकाले लामो बहसपछिको निष्कर्षलाई हारजितबिनै दुवैले स्वीकार ग-यौँ । आमा प्रत्यक्षदर्शी बनेर मुसुमुसु हाँसिरहनुहुन्थ्यो । बा र मेरो विवादमा तटस्थ बस्ने आमाको खास बानी हो । जितभन्दा पनि मप्रति बाआमाको विश्वास देख्दा साह्रै सुखी लाग्छ । आत्मविश्वासले आकाशै छोला जस्तो हुन्थ्यो हृयदमा । ऊर्जाको त कुरै नगरौँ ।

सानैमा पनि बासँग नडराई बोल्न सक्थेँ म । दिदीदाइहरु बाका अगि पर्न डराउँथे । ठुलो भएकाले हकदाबीमा ठुली दिदी, सानी भएकाले मायामा मैले बोलेका विषयमा बा एकदम थोरै प्रतिकार गर्ने गर्नुहुन्थ्यो । बा जीवन बाँच्ने कला सिकाउनुहुन्थ्यो । ‘दुखी भएर, अपूरो भएर होइन, जे छ त्यसैमा खुसी हुन सिक्नुपर्छ ।’ बाको यो भनाइले मलाई भित्रैदेखि साहस भरेछ । धर्म, संस्कृतिसहितको पारिवारिक अनुशासनमा कडा हुनुहुन्थ्यो बा । समयसँगै सांस्कृतिक मूल्य र मान्यतालाई आफू अनुकूल बनाउँदै लैजान मैले गरेको सानो प्रयास पनि ठुलै विद्रोह देखिएको थियो त्यस समय । ‘महिनावारी हुँदा घरभित्र पस्न हुँदैन’ भन्ने मान्यता पनि मैले नै नाघेकी थिएँ । बा भन्नुहुन्थ्यो– “यसले हामीलाई मिची । छोरी पढाउन हुन्न भन्थेँ, हो रैछ । मूल खामो नै छुन आई अब त ।”

तर, जब साँझ पथ्र्यो । माथिल्लो तला उक्लिसकेपछि आमालाई भन्नुहुन्थ्यो– “ए ! कान्छीलाई भित्रै सुत्न भन् । बाहिर डराउली ।” छोरीलाई जागिर खान पठाउन नहुने मान्यतालाई मैले नै तोडेकी थिएँ । बाका सात दाजुभाइमा एकाध बुहारीले घरबाहिर गएर जागिर खाएको भए पनि छोरी बाहिर निस्किएका थिएनन् जागिर खान । सुन्दा दन्त्य कथा जस्तो लाग्ने विषय मैले कसरी प्रतिकार गरेँ ? सम्झँदा पनि अचम्म लाग्छ । मैले जागिर खान जाँदा ‘तीनतले’ को साख गिरेको अनुभूति भयो बालाई ।

२०५७ सालतिर ‘चितवन साप्ताहिक’ को परिचयपत्र गलामा देखेर गाली गर्ने मेरा आफन्त र इष्टमित्रले केही वर्षभित्रै प्रशंसा गर्न थालेपछि बाले भन्नुभएको थियो– “यस्तै निडर होस् भन्ने चाहेको थिएँ मैले, मेरो भित्री चाहना पूरा भयो ।” हो, यहाँनिर म सही थिएँ । “म चुप थिएँ, त्यसैले तिमी सही भयौ !” बा सधैँ भन्नुहुन्थ्यो । उहाँको मौनताभित्रको रिस पनि मलाई मिठो लाग्थ्यो । ठान्थेँ– मैले त जितेँ नि बा ! हजुरको रिस त एकै क्षणका लागि मात्र त थियो नि समयसँगै ।

बाको मौनता आजका लागि हिजो तय भएको मेरो गोरेटो हो । त्यही मौनताले मलाई कार्यक्षेत्रमा अगि बढ्ने प्रेरणा दिएको थियो । तब न मैले आफुले रोजेको बाटो खन्न अनि  विस्तार गर्ने मौका पाएँ । भड्किलो बिहे गरेर दाजुभाइका नाममा मेरो दायित्व उठाउँदा लागेको खर्चको बहिखाता नरहोस् भन्ने मेरो चाहाना पनि पूरा गरिदिनुभयो बाले । तर, उहाँको चाहना ? बा सधैँ भन्नुहुन्थ्यो– “कान्छीको बिहे नजिकै अनि धुमधाम गर्नुपर्छ । नौमती बाजा, इष्टमित्र, भोजभतेर ‘. आदि, इत्यादि ।” बाका चाहना धेरै थिए, जहाँ हाम्रा विचार मिलेनन् सायद । यो पनि सबैभन्दा बलवान् समयकै प्रभाव मान्छु ।

लामो समयपछि बाले भन्नुभयो– “तिमीले ठिकै ग-यौ । वाहियात खर्चको कामै रैनछ । छोरीको बिहे पनि त्यसै गरी गर्नू । कर्म गर्नुपर्छ । खर्च गर्ने होइन ।” “देख्नुभो, म गलत निर्णय गर्दिनँ नि बा ! बाँकी निर्णयहरु भविष्यमा यसै गरी तपाईंको आत्मस्वीकृतिसहित सत्य साबित हुँदै जानेछन् ।” मेरो अभिव्यक्तिमा आँखीभौँ उचालेर बाले स्वीकृतिको मुन्टो हल्लाउनुभएको थियो ।

थाती रहेका कैयौँ विषय पनि समयले छिनोफानो गरिसक्यो । तर, बाको आत्मस्वीकृति पाउने मेरो चाहाना पूरा भएन र अब कहिल्यै हुँदैन पनि । बा भएको भए कोभिड–१९ ले मुलुक नै त्रसित बनेका बेला ‘हत्केलामा सास लिएर हिँडेकी छ छोरी’ भन्दै चिन्ताले अझै सुक्नुहुन्थ्यो होला । अथवा गर्व गर्नुहुन्थ्यो होला कर्तव्य नबिर्सेकोमा । जिम्मेवारीबाट नपन्छिएकोमा ।

कोरोना कहरमा वर्तमान विश्व जटिल अवस्थामा पुगेको बेला कठिन अवस्थामा बाले दिने गर्नुभएका सान्त्वनाका शब्दहरु स्मृतिमा आइरहेछन् । तात्कालिक शसस्त्र द्वन्द्व, ०६२–६३ को आन्दोलन, महाभूकम्प, नाकाबन्दी लगायतमा उहाँले आशाको त्यान्त्रो देखाउँदै सधैंँ ‘हिम्मत राख्न’ प्रेरणा दिइरहनुभयो ।

ज्योतिष र संस्कृतको सामान्य शिक्षा भए पनि देशको राजनीतिमा चासो राख्ने भएकाले समाचार सुन्ने बानी थियो बाको । रेडियो नेपालबाट आउने घटना र विचार सुरुदेखि नै सुन्न कहिल्यै छुटाउनुभएन । “यस्तै हुुनुपर्छ निडर अनि हक्की !” बाले सबैलाई पत्रकार पुरुषोत्तम दहालको उदाहरण दिने गरेको सम्झन्छु अहिले पनि ।

बा अहिले हुनुहुन्न । मप्रति बाका अपेक्षाहरु कति पूरा भए कति पूरा भएनन् तर अहिले पनि गुन्जिरहेछन् बाका अभिव्यक्ति । माया, प्रेम, स्नेह र सम्झनाको त के कुरा गर्नु । सन्तानले बाआमालाई कहिले बिर्सन सक्छन् र ! मेरा हरेक निर्णयलाई समयको कसीमा राखेर तौलिने बाको कार्यशैलीमा सधैँका लागि पूर्णविराम लाग्यो । बाको शरीर जलेर निस्किएको धुँवा अकासिँदै गर्दा अनायासै उहिले बाले मलाई काखमा राखेर चोरी औँलाले आकाशतिर देखाउँदै भनेको सम्झिएँ – “मरेपछि उः त्यो चन्द्रमासँगै रहेको चम्किलो तारा भएर तिमीलाई हेरिरहनेछु ।” त्यो बेला मेरो बालमस्तिष्कले के बुझ्यो होला र बाको कुरा ? धमिलो सम्झनाले मुटु भक्कानियो ।

अब मेरा अगाडि बा कहिल्यै आउनुहुने छैन । सधैँका लागि छोडेर जानुभयो । पीडामा हृदय चिरा चिरा भएर आँसु डिलसम्म आइपुग्दा बाले भनेझैँ म अनायासै आकाशलाई नियाल्ने गर्छु । मेरा आँसु आँखाका डिलमै अडिने गर्छन् । सायद आकाशबाट बाले हेरिरहनुभएको छ । उहाँ मेरा आँसु खसेको कसरी देख्न सक्नुहुन्छ र ?