• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेललाई गार्ड अफ अनर ★   प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट ★   दातृ निकायको खाजामा राजनीतिक ‘स्टण्टबाजी’ ★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित

सामुदायिक कुकुर मार्ने वडाध्यक्षको अभिव्यक्तिप्रति दुई संस्थाको आपत्ति



काठमाडौँ । असहाय गाईबाछा संरक्षण अभियानले काठमाडौँ महानगरमा बेवारिसे कुकुर मार्नुपर्छ भन्ने काठमाडौँ महानगरका एक वडाध्यक्षको सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ ।

अभियानका अध्यक्ष उत्तम पुडासैनीले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घृणात्मक अभिव्यक्ति र हत्या तथा हिंसा जस्ता क्रियाकलापको वकालत आफैँमा अपराधकर्म भएको र यस्ता अभिव्यक्ति दण्डनीय हुने बताउनु्भएको छ ।

“यो धर्ती मान्छेको मात्र होइन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१ औँ शताब्दीको सोचमा मग्न भैरहँदा हामी उही १६ औँ शताब्दीको पुरातन सोचमा रुमलिएका छौँ”, विज्ञप्तिमा उहाँले भन्नुभएको छ ।

काठमाडौँ महानगरपालिका जस्तो गरिमामय संस्थाका एकजना वडाध्यक्षले सार्वजनिकरुपमा कुकुर मार्ने दिएको अभिव्यक्तिले उहाँको सोच र हैसियतलाई छताछुल्ल मात्र बनाइदिएको नभई अन्तर्राष्ट्रिय जगत्मा समेत हाम्रो शिर निहुरिएको उहाँले बताउनुभयो ।

“सडकमा भौँतारिएका ती अबोध प्राणीको के दोष ? मान्छेहरुको भीडले आक्रान्त यो धर्तीलाई उनै मान्छेहरुले दिनानुदिन विकृत बनाइरहँदा ती अबोध प्राणीहरु भोकभोकै भौँतारिनुपरेको अनि अनेक रोगब्याधले थलिएर सडक किनारमा जीवन त्याग्नु परेको पीडालाई अनुभूत गर्न नसक्ने प्राणी मान्छे हुनै सक्दैन”, अध्यक्ष पुडासैनीले भन्नुभएको छ, “आफू एकक्षण भोकै बस्नुपर्दाको पीडा कस्तो हुन्छ ? आफूलाई चोट लाग्दाको पीडा कस्तो हुन्छ ? चिसो रातमा खुल्ला आकाशमुनि बस्नुको पीडा होस् या पानीमा रुझ्दै कसैले आश्रय देला कि भनेर ढोकाबाहिर ढुक्नुको पीडा कस्तो हुन्छ ?”

उहाँले सामाजिक विचलन ल्याउने खालका यस्ता अभिव्यक्ति दिने वडाध्यक्षमाथि कारवाहीका लागि आह्वान गर्नुभएको छ ।

उहाँले सडकमा कुकुरमात्र नभई असहाय गाईबाछाहरु समेत अत्यन्तै दर्दनाक अवस्थामा बाँच्नु परेको अवस्थालाई मध्यनजर राख्दै उनीहरुको उचित स्याहार र आहारको व्यवस्थाका लागि अभियानका तर्फबाट समस्त स्थानीय, प्रान्तीय र संघीय सरकारसँग आग्रह गर्नुभएको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाको छैठौँ कार्यपालिका बैठकमा वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले सामुदायिक कुकुरहरुको व्यवस्थापन सम्बन्धमा व्यक्त गर्नुभएको धारणाप्रति पशु कल्याण संघ नेपालले आपत्ति प्रकट गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै सामुदायिक कुकर तथा छाडा चौपायाहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताएको छ ।

“आधुनिक विश्व विज्ञान प्रविधिद्वारा यति आधुनिक भइसक्दा पनि सानातिना समस्याहरुको सृजनात्मक, दीर्घकालीन तथा मानवीय समाधान खोज्नुको साटो यस्ता किसिमका अव्यावहारिक र लज्जास्पद विचार व्यक्त गर्ने जिम्मेबार निकायहरुका कारण सभ्यता विकासको दौडमा हामी निकै पछाडि परिरहेका छौँ भन्ने अनुभूति भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निज वडाध्यक्ष आफैँले विगतमा आफूले कुकुरहरु मारेको र अझै पनि मार्नका लागि विषादि खोजिरहेको स्वीकारोक्तिसहितको अभिव्यक्ति दिएका कारण निजलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरिएको छ ।