• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

यात्रुवाहक बस नर्मदा नदीमा खस्दा १३ को मृत्यु, २५ भन्दा बढी बेपत्ता



एजेन्सी । भारतको मध्य प्रदेशको धार जिल्ला खलघाटमा ठूलो दुर्घटना भएको छ । यात्रुले भरिएको महाराष्ट्र राज्य यातायातको बस नर्मदा नदीमा खसेको हो । दुर्घटना बिहान १०ः४५ बजे भएको बताइएको छ ।

बसमा महिला र बालबालिकासहित ५० भन्दा बढी यात्रु सवार थिए । खोलाबाट हालसम्म १३ जनाको शव निकालिएको छ भने १५ जनाको उद्धार गरिएको छ ।

सोही क्रममा २५ देखि २७ जना बेपत्ता रहेको बताइएको छ । घाइतेहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बसलाई क्रेनमार्फत बाहिर निकालिएको छ । गलत साइडबाट आउँदै गरेको गाडीलाई बचाउने क्रममा दुर्घटना भएको बताइएको छ ।

जानकारी अनुसार इन्दौरबाट महाराष्ट्रतर्फ जाँदै गरेको यात्रुबाहक बस खलघाट सञ्जय सेतु पुलमा सन्तुलन बिग्रँदा २५ फिट तल खोलामा खसेको थियो ।

घटनास्थलमा धामनोद प्रहरी र खल्ताका प्रहरी खटिएका छन्, गोताखोर उद्धारमा खटिएका छन् । उद्धारका लागि एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । इन्दौरका आयुक्त पवन कुमार शर्माले धार र खरगोनका कलेक्टरहरूलाई घटनास्थलमा पुग्न निर्देशन दिएका छन् ।

आगरा(मुम्बई (एबी रोड) राजमार्गमा दुर्घटना भएको हो। यो सडकले इन्दौरलाई महाराष्ट्रसँग जोड्छ । घटना भएको स्थान इन्दौरबाट ८० किलोमिटर टाढा छ। बस खसेको सञ्जय सेतु पुल दुई जिल्ला धार र खरगोनको सिमानामा बनेको हो ।

नदीमा खसेको बस महाराष्ट्र राज्य यातायात निगमको हो, जसलाई एसटी पनि भनिन्छ । बस बिहान पुणेबाट इन्दौरका लागि प्रस्थान गरेको थियो ।

खलघाटमा दुर्घटना हुनुअघि बसले १० मिनेटको ब्रेक लगाएपछि बिहान १० बजेर ४५ मिनेटमा बस खलघाटबाट नर्मदामा खसेको थियो । अगाडिबाट गलत साइडबाट आउँदै गरेको गाडीलाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटना रोक्न खोज्दा बस चालकले नियन्त्रण गुमाएपछि बस पुलको रेलिङ भाँच्दै नदीमा खसेको हो । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।