१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ ।

बजेट माथिको छलफल सकिएपछि गए राति ८ः४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनु हुँदै मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अवरुद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरु भएको थियो ।

सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो । बुधबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको व्यहोरा सदनलाई जानकारी गराउनुभयो ।

नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी उहाँले राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष यही असार १३ गते राजीनामा पत्र पेस गर्नुभएको थियो । विसं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित हुनुभएको थियो । मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन् ।