२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिबानले घोषणा गर्यो अन्तरिम सरकार



अ+ अ-

काठमाडौं । तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको तीन सातापछि सरकार गठन  गरेका छन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा आफ्नो सरकार बनाएको घोषणा गरेका हुन् ।

अफगानिस्तानमा तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्ने भएका छन् भने डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् भने मुल्लाह अब्दुल सलाम सेकेण्ड डेपुटीको रुपमा रहनेछन् ।

मुजाहिदका अनुसार गृहमन्त्रीमा हक्कानी नेटवर्क नामक चरमपन्थी संगठनको प्रमुख सराजुद्दिन हक्कानी रहेका छन् । उनी अमेरिकाको एफबीआईको वान्टेडको सूचीमा छन् । अमेरिकाले हक्कानी नेटवर्कलाई पनि आतंकवादी संगठन मान्दै आएको छ ।

तालिबानका प्रवक्ता मुजाहिदले अहिले गठन गरिएको सरकार अन्तरिम सरकार भएकाले अबको केही समयमा पूर्ण सरकार पनि गठन हुने बताएका छन् । यद्यपि अहिले यो सरकार अफगानिस्तानको कार्यकारी सरकार हुनेछ ।

यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गरिने बताए पनि मंगलबार घोषणा गरेपछि नयाँ अनुहारलाई भने अहिले घोषणा गरिएको सरकारमा समावेश गरिएको छैन ।