• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै



प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।

आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ । दुई वर्ष अघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।