१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारदिने भ्रमणका लागि एमसीसीका उपाध्यक्ष आज नेपाल आउँदै



अ+ अ-

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष चारदिने भ्रमणका लागि आज  नेपाल आउने भएकी छन् । बिहिबार उपाध्यक्ष  फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लीने भएकी हुन् । 

चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच मिलेनियम च्यालन्ज सम्झौता (कम्प्याक्ट) मा सम्झौता भएको थियो । एमसीसीबाट पहिलोपटक उच्च तहमा हुन लागेको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । नेपालमा कार्यान्वयन हुन लागेको एमसीसीलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । 

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । 

अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको थियो । उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति दिनुका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएको थियो ।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३ सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारको काम हुने बताइएको छ ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।