१३ पुष २०८१, शनिबार
,
Latest
जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा ‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास-फोटोफिचर भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि यी ४ रोग छन् भने केरा नखानुहोस् ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।

फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।