• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको शिष्टाचार भेटका अवसरमा उहाँले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिनुभएको हो ।

मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो ।

स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दो र गुणस्तरीय बनाउन सुझाउँदै प्रधानमन्त्री देउवाले राससलाई अझ सुदृढ र स्रोतसाधन सम्पन्न बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाचार सङ्कलन तथा सम्प्रेषण कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि प्रधानमन्त्री देउवाले स्पष्ट गर्नुभएको थियो ।

वर्तमान सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको चर्चा गर्र्दै उहाँले चौथो अङ्गका रूपमा परिचित प्रेसले पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले राससका नवनियुक्त कार्यकारी अध्यक्ष झालाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार झाको नेतृत्वमा राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि भई आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।