२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई घनश्यामको जवाफ – एमालेमा रोपेको बीउ अब उम्रिदैन, हाइब्रिड चाहिन्छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने बताएका छन् ।

रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।

आजै आयोजित एक कार्यक्रममा प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए ।

भुसालले भने, ‘कमरेड प्रचण्डले आजै एक कार्यक्रममा एमालेमा माओवादीको बीउ रोपेका छौं भन्नु भएछ, त्यो एउटा धारालाई संगठित गर्नको लागि जे भन्नु भएको छ, आजको आवश्यकतालाई बुझ्नु भएन । यी बीउ नउम्रने बीउ हुन् । रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैनन् । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ ।’

यस्तै, एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको चर्चा गर्दै नेता भुसालले भने, “यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौँ ।”