• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडतर्फको उपाधि



काठमाडौं । विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा आईतवार स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपिएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै आर्मीका मुकेश पालले ८ मिनेट ३० ससेकेण्डमा पूरा गर्दै रजत पदक जित्दा त्रिभूवन आर्मी क्लवका दीपक अधिकारीले ८ मिनेट ३८.० सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारे ।

महिलातर्फ स्वर्ण जितेकी सन्तोषीले यसअघि भएको १५ सय मिटरमासमेत स्वर्ण जितेकी थिइन् । ३ हजार मिटर महिलातर्फ पुलिसकी राजपुरा पछाईले १० मिनेट ८.४ सेकेण्डसहित रजत जितिन् । कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य पदक हात पारिन् ।

रंगशालामा नै सम्पन्न ४ गुणा ४ सय मिटर रिले महिलातर्फ एपिएफले स्वर्ण पदक जितेको छ । रमिता कुमार थारु, भागरती कुमारी थारु, कल्पना श्रेष्ठ र पूmलमती रानाको समूहले आर्मीको टोलीलाई पछि पार्दै स्वर्ण जितेको हो । एपिएफको टोलीले निर्धारित दूरी ४ मिनेट ३.१ सेकेण्डेमा पूरा गर्दै स्वर्ण पदक जित निकाल्दा आर्मीले ४ मिनेट ९.३ सेकेण्डको समय निकाल्दै रजत पदक हाँसिल गरेको हो । यस्तै कास्य पदक जितेको वागमती प्रदेशले निर्धारित दूरी ४ मिनेट ४०.९ सेकेण्डमा पूरा गर्यो ।

आईतवारकै पुरुष तर्फको ४ गुणा ४ सय मिटरमा भने आर्मीले एपिएफलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीको समूहले निर्धारित दूरी ३ मिनेट २०.४ सेकेण्डमा पूरा गरेको हो । रजत पदक जितेको एपिएफको टोलीले निर्धारित दूरी पार गर्न ३ मिनेट २१.९ सेकेण्ड समय खर्चियो । यस्तै पुलिसले निर्धारित दूरी ३ मिनेट ३०.८ सेकेण्ड पूरा गरेर कास्य पदकमा चित्त बुझायो ।

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत आईतवारै सम्पन्न ट्रिपल जम्प महिला तर्फको प्रतिष्पर्धामा एपिएफकी शिला चौधरीले स्वर्ण पदक जित्दा पुलिसकी सीमा चौधरीले रजत तथा आर्मी की निर्मला थापाले कास्य पदक जिते । शिलाले ११.०४ मिटर जम्प गर्दा सीमाले १०.५२ मिटर र निर्मला थापाले ९.८९ मिटर जम्प गरिन् । यस्तै पुरुषतर्फ भने वागमती प्रदेशका भुवन महतोले १३.८२ मिटर जम्प गर्दै विभागीय प्रतिष्पर्धीलाई पछि पारेर स्वर्ण पदक जिते । आर्मीका शेरबहादुर बिष्टले १३.५३ मिटर जम्प गर्दै रजत पदक जित्दा सलिम देवानले १३.४४ मिटर जम्प गर्दै कास्य पदकमा चित्त बुझाए ।

यस्तै डिस्कस थ्रो तर्फको प्रतिस्पर्धामा आर्मीले दुवै महिला र पुरुष तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जित्यो । महिला तर्फको खेलमा आर्मीकी सीता शाहीले ३३.५३ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा पुरुषतर्फ चित्रबहादुर वलीले ३६.८९ मिटर थ्रो गरेर आर्मीलाई स्वर्ण पदक दिलाएका हुन । लुम्बिनीकी संगीता अधिकारीले ३३.३८ मिटर थ्रो गर्दै रजत पदक जित्दा आर्मीकी मिलन बुढामगरले ३२.९५ मिटर थ्रो गर्दै कास्य पदकमा चित्त बुझाइन् । यस्तै ३३.१८ मिटर थ्रो गर्दै पुलिसका पुस्कल खड्काले रजत पदक प्राप्त गर्दा ३३.०५ मिटर थ्रो गरेका एपिएफका मिलन चौधरी तेस्रो भए ।

यससँगै कोरोना महामारीपछि पहिलोपटक आयोजना भएको तीन दिने ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । आर्मीकी जयरानी थारु र एपिएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए । आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपिएफ दोस्रो भयो । यस्तै ३ स्वर्ण, २ रजत र ४ कास्य जितेको वागमती प्रदेश तेस्रो स्थानमा रह्यो ।

उता विभागीय टोली नेपाल पुलिसले २ स्वर्ण, ३ रजत र ४ कास्य पदका निकाल्दा चौथो बन्यो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, एथ्लेटिकक्स संघका अध्यक्ष राजिवविक्रम शाह लगायतले पुरस्कृत गरेका छन् ।