२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्तको अर्थ हुन्न, केही घण्टाभित्रै निर्णय कार्यान्वयन हुन्छ: जगन्नाथ खतिवडा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना मन्त्रीहरु हेरफेर गरेको निर्णय अब दिनमा नभएर केही घण्टामै हुनुपर्ने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सचिवालय र स्थायी कमिटीको निर्णय बिनासर्त लागु हुनुपर्ने बताए ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको निर्णय मान्न मन्त्रीहरुले कुनै सर्त राख्न नमिल्ने जिकिर गरे । स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम हुने उनको भनाइ थियो ।

उनले भने, “पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।”

सो पार्टीका मन्त्रीहरुले आफूहरुलाई हटाउनका लागि पार्टी अध्यक्ष माधव नेपालसँग विभिन्न पाँचवटा सर्त राखेका थिए ।

उनीहरुले नयाँ मन्त्रीहरु समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने सर्त राखेका थिए ।

प्रचार विभाग प्रमुख खतिवडाले स्थायी कमिटिको बैठकले निर्णय गरिसकेपछि त्यस्ता सर्तको कुनै अर्थ नहुने बताए ।