• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन

बाँकेमा चुनौतीपूर्ण बन्दै मातृ मृत्युदर



राँझा । बाँकेमा मातृ मृत्युदर चुनौतीपूर्ण बन्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १४ सुत्केरीको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका आमा सुरक्षा कार्यक्रम स्रोत व्यक्ति पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार जिल्लामा ६ महिनामा नेपालगञ्ज उपमहानगरपालिकामा ६, जानकी गाउँपालिकामा तीन, राप्ती सोनारी र नरैनापुरमा दुई–दुई तथा कोहलपुरमा एक सुत्केरीको ज्यान गएको छ ।

अधिकांश महिलाको सुत्केरीपश्चात अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । अस्पतालमा ४३ प्रतिशत, बाटोमा २९ प्रतिशत र १४ प्रतिशतको घर तथा १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको तथ्याङ्क छ । उनन्तीस प्रतिशतको अत्यधिक रक्तश्राव र २१ प्रतिशतको रगतको कमी भएर मृत्यु भएको पाइएको छ । मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका छन् । गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पतालमा आउँदा अधिकांश महिलाको अकालमा मृत्यु हुने गरेको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा कल्पना थापाले बताउनुभयो ।

“नियमितरूपमा गर्नुपर्ने जाँच नगरी ब्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्ने गरेका कारण उनीहरूलाई बचाउन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “कतिपयमा रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्या देखिने गरेको छ ।” बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा ४६, २०७६/७७ मा ३५ र २०७५/७६ मा २९ सुत्केरीको ज्यान गएको थियो । मातृ मृत्युदर बढ्नुमा बालविवाह, उमेर नपुग्दै गर्भवती, पोषणको कमीलगायत कारण रहेको डा थापाले बताउनुभयो ।