• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन नेपाली कांग्रेसको माग



काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन माग गरेको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिन माग गर्नुभएको हो ।

भेटपछि महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको नोट चल्ने मात्र नभई भोट पनि चल्ने बनाउनुपर्ने बताउनुभयो । यसअघि आयोगका पदाधिकारीहरुले सोमबार महामन्त्रीद्वयले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी विदेशमा रहेका नेपालीका लागि मताधिकारको कुरा राख्दा प्रधानमन्त्री देउवाले सो सम्बन्धमा कानून निर्माणमा सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

मंगलबारको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले सर्वोच्च अदालतको आदेशअनुसार केही दिनमै सोसम्बन्धी कानूनको मस्यौदा सरकारलाई दिने बताए । पदाधिकारीहरुले विदेशमा रहेका नेपालीलाई प्रत्यक्षभन्दा पनि समानुपातिकतर्फ मताधिकार दिँदा तुलनात्मकरुपमा सहज हुने बताएका थिए ।

पदाधिकारीहरुले विदेशमा रहेका नेपालीलाई मताधिकार दिँदा निर्वाचनसम्बन्धी अहिलेको कानूनमा पाँच स्थानमा संशोधन गर्नुपर्ने बताए ।

महामन्त्रीद्वयले सरकारसँग कानून निर्माणका लागि कुरा गर्ने बताउँदै कानूनमा संशोधन नहुँदै विदेशमा रहेका नेपाली मतदानको बेला नेपाल आइपुग्दा उनीहरुको नामावली संकलन गर्न आग्रह गरे ।

निर्वाचन आयोगले पनि आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीको नाम संकलन गर्ने बताएको छ । महामन्त्रीद्वयले भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग मतदाता नामावली संकलनलाई व्यवस्थित बनाउन पनि अनुरोध गरेका छन् ।