• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

एसपीपी सधैँका लागि बन्द गर्न महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई सुझाव



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई सधैँका लागि बन्द गर्न आग्रह गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेटी महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आबद्ध हुन नसक्ने भनी पत्राचार गर्न आग्रह गरे ।

उनीहरुले एसपीपीसम्बन्धमा राष्ट्रिय सहमति निर्माण गरी कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिए । प्रधानमन्त्री देउवाले यही असारको अन्त्यतिर अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ । सोही भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्नुहुन्छ भन्ने सत्ता साझेदार दलबीच र प्रमुख प्रतिपक्षी दलबीच आशंका छ ।

त्यसैले प्रधानमन्त्रीको आसन्न भ्रमण र एसपीपीमा नेपालको सहभागिताप्रति नेपालमा विवाद छ । यद्यपि सरकारले एसपीपी सहभागी नहुने प्रतिबद्धता व्यक्त गरिसकेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताउनुभएको थियो ।