२० भाद्र २०८३, शनिबार
,
Latest
पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव



अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन प्रस्ताव गर्नुभएको छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले तराई तथा पहाडका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन तथा रोजगारी वृद्धि गर्न सकिने बताउनुभयो ।
“बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गरौँ, त्यससँगै देवघाटमा बाँध बाँधेर चितवन हुँदै पूर्वतर्फ र नवलपुर हुँदै पश्चिमतर्फ नहरमार्फत तराई–मधेसका सिँचाइ समस्या हल गर्न सबैको ध्यान जानुपर्छ”, मुख्य सचेतक पाण्डेले भन्नुभयो, “तराई–मधेसका सम्म फाँट, पहाडका टारमा सिँचाइ सुविधा पुर्‍याउनुपर्छ, यसबाट कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धिका साथ रोजगारी सिर्जना हुन्छ ।”
आगामी आवको बजेटमा सिँचाइतर्फ बजेट वृद्धि भएकामा खुसी व्यक्त गर्दै उहाँले सिँचाइ प्रणालीलाई ‘डिजिटलाइजेसन’ गर्न आग्रह गर्नुभयो । “खेतीयोग्य भूभागमा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउनुपर्छ, स्थानीय साधनस्रोतको प्रयोग गरी पानीको पुनर्भरण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ”, मुख्य सचेतक पाण्डेले भन्नुभयो ।
जलवायु परितर्वनका असरलाई ख्याल गरी जलस्रोतका सबै आयोजनाको डिजाइनलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यसका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजनाको डिजाइन स्थान, मौसमअनुसार हुनुपर्ने बताउनुभयो । पूँजीगत खर्च वृद्धिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले हाइड्रोजन ऊर्जा, पोड–वेलगायत ऊर्जा र यातायातका नयाँ प्रविधिको प्रयोगमा विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।