२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो



अ+ अ-

खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।

गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए । महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य÷नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य/नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।

ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ ।

हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य/नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । 

“सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निर्णय गरिएको छ”, उनले भने, “स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए÷नभएको विषयमा आनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण दुई हजार ९२६ मा देखिएको जिल्लामा १५ जनाको निधन भएको छ ।

सङ्क्रमितको सङ्ख्या धेरै भए पनि हालसम्म निषेधाज्ञा लागू नगरिएका जिल्लामा ३९ हजार ९८६ जनालाई पहिलो तथा २० हजार १७४ लाई दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

हरेक नागरिकलाई खोप उपलब्ध गराउने सरकारको नीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा खोप लगाउने व्यवस्था मिलाइएको खोप समन्वय समितिका संयोजकसमेत रहेका प्रजिअ शर्माले जानकारी दिए ।