
एजेन्सी । युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । पछिल्लो अपडेट अनुसार रुस युक्रेनसँग वार्ता गर्न सहमत भएको छ ।
बेलारुसमा दुवै देशका नेताहरूले वार्ता गर्न सक्नेछन् । यसैबीच रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको छ ।
यहाँ राजधानी किभ बाहिर युक्रेनले रुसी सेनालाई कडा टक्कर दिएको छ । युक्रेनी सेनाले रुसी पक्षमा लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको छ ।
सामी ओब्लास्टको ओख्तिरकामा आइतबार बिहान रुसी आक्रमणमा परी सात वर्षीया बालिकासहित छ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।
युक्रेनको स्थानीय सञ्चारमाध्यमले युक्रेनका गभर्नर दिमित्री जिवित्स्कीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अर्कोतर्फ, रुसी सेनाले खार्किभमा ग्यास पाइपलाइन विस्फोट गराएको छ ।
सोही क्रममा बार्सिलकिभमा गोली चल्दा पेट्रोलियम बेसमा आगलागी भएको थियो ।