• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

नेपाल र अमेरिकाबीचको खेल ‘टाई’



काठमाडौं । प्लेयर अफ दि म्याच घोषित भएका मोहम्मद आदिल अलामले अन्तिमा दुई बलमा दुई विकेट निकालेपछि नेपालले गुमाइसकेको खेलमा अमेरिकासँग अंक खोसेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल टाई भएपछि नेपालले गुमाइसकेको खेलमा अंक जोड्न सफल भएको हो ।

मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । यस्तै कप्तान मोनाङ्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडेका थिए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा पवेलियन फर्किंदा अमेरिका नेपालले बनाएको स्कोरमा नै खुम्चिएको हो ।

बलिङतर्फ सिनियर टोलीमा डेब्यु गरेका आदिल अलामले ३ विकेट निकाले । जितउन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा २ विकेटसहित उत्कृष्ट बलिङ गरेका हुन् । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल टाइ गराए । सोही ओभरमा नो बल भएको अवस्थामा पनि अमेरिकालाई नेपाल रोक्न सफल भएको हो ।

रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भएको थियो । आदिलको अलावा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय ७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहितकुमार पौडेल, आसिफ शेख र देव खनालले अर्धशतकीय पारी खेले । रोहितले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । ७२ बलको सामना गरेका रोहितले १ छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै ६१ रन बनाएका आसिफले ७० बलको सामना गर्दा ६ चौका प्रहार गरेका थिए भने ५४ रन जोडेका देव खनालले ६९ बलमा ३ चौका प्रहार गर्दै ५४ रनको योगदान गरे ।

डेब्युटेन्ट आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट भए । कप्तान सन्दीपले १० रन बनाए । आरिफ शेख ८, दिपेन्द्रसिंह ऐरी १ सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी शुन्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे । बलिङतर्फ अमेरिकाका रुष्टि थिरनले ४ विकेट निकाल्दा अलि खान र सौरभ नेत्रभाल्करले समान २÷२ विकेट आफ्नो नाममा लेखाए ।

खेल टाइ भएपछि नेपाल र अमेरिकाले १/१ अंक तालिकामा थपेका छन् । यस खेलसँगै लिग–२ मा नेपालको १४ खेलबाट १३ अंक भएको छ । नेपाल तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाको २२ खेलमा २१ अंक छ र अमेरिका तालिकाको चौथो स्थानमा छ । श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो भने अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा ओमानबिरुद्ध मंगलवार र अन्तिम खेलमा नेपालले अमेरिकाबिरुद्ध बुधवार खेल्ने तालिका छ ।