१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली

तुवाचुङ जायजुममा चुला पूजा तथा साकेला सिली
अ अ+ अ-

खोटाङ । किराँत समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थान र वडा नं ७ अर्खौलेको सिमानामा गर्ने तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किराँत समुदायको महान् चाड साकेला उभौलीको अवसर पारेर शनिबार तुवाचुङ जायजुममा नछुङ (धामी)मार्फत चुला पूजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शन गरिएको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि पर्ने तुवाचुङ जायजुममा आयोजना गरिएको चुला पूजा तथा साकेला सिली प्रदर्शनीमा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुरलगायत जिल्लाका किराँत राई समुदाय भेला भएर सामूहिकरूपमा चुला पूजा गर्दै साकेला नाचेका छन् । नगरप्रमुख विमला राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साकेला सिली प्रदर्शनी गर्न विभिन्न स्थानका १५ समूह सहभागी भएको तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले जानकारी दिनुभयो ।

समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा पर्ने पर्यटकीयस्थल तुवाचुङ जायजुममा आयोजित कार्यक्रममा किराँत राई समुदायको परम्परागत वेषभूषामा सजिएर अलग–अलग समूहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । कोभिड–१९ को महामारीका कारण रोकिएको तीन वर्षपछि तुवाचुङ जायजुममा शनिबार चुला पूजा गर्दै साकेला नाचिएको हो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ जायजुममा प्राकृतिकरूपमा रहेका रैछाकुलेको ढुङ्गाको मूर्ति र तान बुन्ने ढुङ्गा देख्न सकिन्छ । किराँत ऐतिहासिकस्थल सो क्षेत्रलाई संरक्षण गर्न तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा खरिद गरेर ढुङ्गाको पर्खालले घेराबारा हालिएको छ ।

तुवाचुङ जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि विसं २०७४ मङ्सिर २ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ । किराँत राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीन किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश–विदेशका किराँती र गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ ।

तुवाचुङ जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायतका किराँत समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यअन्तर्गत मन्दुमट्रेल ९पदमार्ग०मा पर्ने तुवाचुङ जायजुममा किराँती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

किराँत राई समुदायको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको सुरुआत गरेको किंवदन्ती बोकेको स्थलका रूपमा चिनिने तुवाचुङ जायजुममा हरेक वर्षको वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाको अवसरमा एक–एकपटक चुला पूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै कोदोको चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर तीन चुला पूजा अर्थात् प्रकृतिको पूजा गरिएको हो ।

साकेला उभौली ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाउँदै गोलो घेरामा साकेला सिली नाच्ने गरिन्छ ।

साकेला उधौलीमा ‘अन्नबालीको सह बसोस्, अनिकाल नलागोस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिकरूपमा सुरु गरिने साकेला उधौलीको पन्ध्र दिनसम्म उनाउने गरिन्छ ।

यसैबीच साकेला उभौली चाडको अवसर पारेर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अहिले हरेक दिन साकेला सिली प्रदर्शन भइरहेको छ । हरेक वर्षको दुईपटक मनाइने साकेला चाडअन्तर्गत उभौलीको अवसर पारेर आफन्तजनसँग भेटघाट गर्नुका साथै शुभकामना आदान–प्रदान गर्दै साकेला सिली प्रदर्शन गर्ने गरिएको आयोजक किराँत राई यायोख्खाले जनाएको छ ।

उभौली चाडको सुरुआती दिन अर्थात् जेठ २ गते मझुवागढीबाट सुरु भएको साकेला सिली पदर्शनी तथा शुभकामना आदान–प्रदान कार्यक्रम यही जेठ २८ गते शनिबार औपचारिकरूपमा समापन गरिने आयोजकले जनाएको छ । दिक्तेलको माटीकोरे खेलमैदानमा आयोजना गरिने समापन कार्यक्रममा बृहत् साकेला सिली प्रदर्शन गरिने जनाइएको छ ।

उभौली चाड समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई निम्तो दिइएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । समापन कार्यक्रममा सहभागी अतिथिलाई समेत साकेला सिली नाच्न लगाएर मनोरञ्जन दिलाइने आयोजकले जनाएको छ ।