१० मंसिर २०८१, सोमबार
,
Latest
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’ एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र रुकुम पश्चिममा छोराद्वारा बुबाको हत्या जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमणः पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री सहित विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षको अन्तिम पर्व सिथि नखः मनाउँदै नेवार समुदाय



अ+ अ-

भादगाउँ । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहँदै आएको छ । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरीपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको अर्को विशेषता हो । साथै, हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।

सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेको गाई बस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् ।

यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने धार्मिक मान्यतासमेत रहेको छ । नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँ जस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास रहेको प्रा. डा. श्रेष्ठ बताउनुहुन्छ ।

नेवार समुदाय कला–संस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र साँस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर, वर्षासँगै ती सबै थाँती राखी धानबाली लगाउन व्यस्त हुन्छन् ।

नेवारी समुदायमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ ।

यस्तो अवसरमा किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।

धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरिमा रुझेर, हिलो माटोसँग पौँंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमाभन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने प्रचलन रहँदै आएको हो ।

साथै, नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । यस्तै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै यस बर्षको वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ । रासस