• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

लालबन्दीबाट एक महिनामा १९ करोडको तरकारी निकासी



सर्लाही । सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु १९ करोडको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो ।

वैशाख महिनामा मात्र रु १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोलभेँडा निकासी भएको हो ।

समितिका अनुसार उक्त महिनामा गोलभँेडा मात्रै रु नौ करोड ४७ लाख ४३ हजारको निकासी भएको हो । त्यसपछि बोडी रु एक करोड ९४ लाख ७९ हजारको निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिकालगायत छिमेकी नगर र गाउँपालिकाबाट समितिद्वारा सञ्चालित तरकारी बजारमा तरकारी आउने गरेका छन् । गोलभेँडा, टमाटर, पर्वल, सिमी, भिण्डी, काउली, बन्दा, भान्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्टा, करेला र मूलालगायत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन नगरलगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करिब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको समितिका अध्यक्ष तोरणबहादुर मगरले बताउनुभयो ।

जिल्लाका स्थानीय किसानले व्यावसायिकरुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमासमेत जाने गरेको अध्यक्ष मगरको भनाइ छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिकरुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्दै आइरहेका जिल्लाका किसानले करिब एक हजार बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताउनुभयो ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारीखेतीमा किसान रमाइरहेका छन् भने तरकारीखेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको छ ।

जिल्लाका गाउँगाउँमा सडक विस्तार भएपछि व्यापारी तरकारी बारीमै पुगेर तरकारी खरिद गर्ने गरेका किसान रामपुकार महतोले बताउनुभयो । तरकारी उत्पादनबाट गाउँमा बर्सेनि चार/पाँच करोड रुपैयाँ भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दीका किसानको गुनासो छ ।

गाउँका सबैजसोले तरकारी उत्पादन गर्ने गरेका र यहाँ उत्पादन भएको तरकारी जैविक तरकारी भएकाले देशका ठूला सहरमा समेत जाने गरेको कृषि विज्ञको भनाइ छ ।