• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

रामपुरको तालपोखरामा पर्यटकको आकर्षण बढ्दै



– सुशीला रेग्मी
रामपुर । ‘मिनि फेवाताल’को नामले चिनिएको रामपुरको तालपोखरामा यतिबेला पर्यटकको आकर्षण बढेको पाइएको छ । यहाँ नयाँ र आरामदायी खालको डुङ्गा सुचारु गरिएपछि तालपोखराले पर्यटक लोभ्याइरहेको हो । पर्यटकलक्षित हाँस आकारको फाइवर प्याडल डुङ्गा चढ्ने र हेर्नेको उत्साह छ ।

निस्दी गाउँपालिका–४ मित्यालका निर्मल राना हाँस आकारको डुङ्गा सयर गर्दा काठको डुङ्गाको तुलनामा बेग्लै रमाइलो भएको बताउनुहुन्छ । पारिवारिक घुमघामका लागि तालपोखरा आउनुभएका रानाले निर्धक्कका साथ तालमा घुम्दा निकै रमाइलो लागेको सुनाउनुभयो । “काठको डुङ्गाको तुलनामा धेरै आनन्ददायी लाग्यो, डुङ्गाभित्र पानी पस्छ कि भन्ने डर पनि भएन, ढुक्कका साथ नयाँ डुङ्गामा परिवारसहित ताल घुमियो, धेरै आनन्द लाग्यो” उहाँले भन्नुभयो ।

उक्त डुङ्गामा आठ जनासम्म बस्न मिल्ने, सुरक्षित खालको, फोटो, भिडियो खिच्न सहज, एकै पटक धेरै जना सयर गर्र्न मिल्ने सुविधा छ । त्यसकारण पनि यस डुङ्गामा बसेर तालमा घुम्दै सेल्फी खिच्ने, टिकटक बनाउने, भिडियो तथा फोटो खिच्नेहरु बढेका हुन् ।

रामपुरमा नयाँ र देख्दै आकर्षक खालको भएकाले यहाँ घुम्न आउने पर्यटकले अनौठो मान्दै अवलोकन गर्ने गरेको बताउनुहुन्छ, स्थानीय भगवती खनाल । उहाँ भन्नुहुन्छ, “सानो काठको डुङ्गामा चढ्दा पानी पस्ने, हल्लिँदा डुङ्गा पल्टिँन्छ कि भन्ने मनमा त्रास हुन्थ्यो भने यसमा ढुक्क भएर चढ्न पाउँदा धेरै खुशी र रमाइलो लागेको छ ।”

यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले जलमार्ग सामग्री खरिदका लागि रु १० लाख रकम उपलब्ध गराएको थियो । सो रकमबाट एउटा हाँस आकारको फाइवर प्याडल डुङ्गा रु चार लाखमा र एउटा काठको डुङ्गा रु दुई लाख ४० हजार खरिदमा खर्च गरिएको छ । बाँकी रकम तालपोखरा परिषरको करिब १४० मिटर पक्की बारबन्देज व्यवस्थापनमा खर्च गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।

“पर्यटकहरु विभिन्न ठाउँबाट तलापोखरा हेर्नकै लागि आउनुहुन्छ, नयाँपन दिन र पर्यटन प्रवद्र्धनका लागि पोखराबाट हाँस आकारको नयाँ डुङ्गा खरिद गरी चलाउन थालेपछि तालपोखरामा छुट्टै खालको रौनकता थपिएको छ” उहाँले भन्नुभयो ।

दिउँसो र साँझपखको समयमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।

डुङ्गा चालक भगवान देवकोटाले हाँस आकारको डुङ्गाले रौनकता थपेको र यसैमा धेरैको आकर्षण बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नयाँ आउने पर्यटक आश्चर्यजनक मान्दै डुङ्गा चढ्ने गर्नुहुन्छ, यसमा सयर गर्दा आनन्दको अनुभूति हुने, देख्दै आकर्षक खालको रहेकाले पनि सबै उमेर समूहलाई लोभ्याइरहेको छ” । हाँस डुङ्गा प्रतिव्यक्ति रु १०० र काठको डुङगा प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ ।

तालमा हाल दैनिक दुई डुङ्गा चालकको व्यवस्था गरिएको छ । बिहान ७ बजेदेखि साँझ रात नपरुन्जेलसम्म डुङ्गा सञ्चालन गर्ने गरिएको बताउनुहुन्छ, चालक श्रीधर पराजुली । उहाँका अनुसार विशेषगरी तालपोखरामा युवायुवती र बालबालिका डुङ्गा सयर गर्दै सेल्फीमा रमाउने, भिडियो तथा टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्छ । हाल यहाँ दैनिक एक हाँस डुङ्गा र दुई काठको डुङ्गा सञ्चालनमा ल्याइएको छ ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीयस्थल तालपोखरामा हालसालै विभिन्न पूर्वाधार स्तरोन्नतिका काम सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ । पोखराको फेवातालको झल्को दिनेगरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले योगदान दिएको छ ।

प्रयोगमा नआउने सामान्य खाडलजस्तो जमिनलाई तालको रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाइएको छ । यहाँका स्थानीय र समितिले एक दशकदेखि तालपोखराको स्तरोन्नतिमा भौतिक पूर्वाधारका काममा जोड दिँदै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सफल भएका छन् ।

हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख बढी रकम खर्च भइसकेको छ । श्रीमद्भागवत धान्याञ्चल ज्ञान–महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्धर््नको काम सुरु गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो । फेवातालको झल्कोस्वरुप तालको बीचमा मन्दिर निर्माण गरिएको छ । यहाँ २०७४ माघ २४ गतेदेखि डुङ्गा सञ्चालन सुरु गरिएको हो । कोरोनाको कहरमा केही समय बन्द रहे पनि अहिले भने नियमित रुपमा डुङ्गा सञ्चालन भइरहेको छ ।

करिब ४५ रोपनी क्षेत्रफलमा ताल फैलिएको छ । तालकोबीच भागमा जलेश्वर महादेवको मन्दिर छ । ताल वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ । यसको नाममा पोखरी र पार्कसमेत छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज हुन्छ । ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा छ

वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालको रुपमा परिणत गरिएको हो । हाल यहाँ स्थानीय कुलो, नहरबाट पानी व्यवस्थापन गरिएको छ ।

तालपोखरामा पर्यटक दैनिकजसो बढ्दै जान थालेपछि पार्क परिसरमा बाल–उद्यान तयार गर्ने समितिले जनाएको छ । पार्क व्यवस्थित गर्ने, बाल–उद्यान निर्माणका सामग्री खरिद, तालकोबीच भाग (मन्दिर परिसरमा)मा पर्यटकलक्षित बस्ने ठाउँको व्यवस्थापन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसमक्ष वजेट माग गरी पुर्वाधार निर्माण गर्ने जनाइएको छ ।