काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोजले पहिलो जित निकालेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।
ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै २२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदानी दिए ।
यस्तै रित गौतमले १२ रन बनाए भने साहन अराचिगे १ रनमा अविजित रहे । ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेललाई ७ ओभरमा सिमित गरिएको थियो ।
ललितपुरका लागि सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाए भने ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । यस्तै नारायण जोशी ११ रनमा आउट हुँदा कप्तान कुशल भुर्तेल ३ रनमा पेभिलियन फर्किए ।
पोखराका नन्दन यादवले ३ विकेट लिए भने बिक्रम सोबले २ तथा केस्रिक विलियम्सको नाममा १ विकेट रह्यो । जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।
यता ललितपुरको भने यो लगातार दोस्रो हार रहेको छ । उद्घाटन खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंक विहीन रहेको ललितपुर तालिकाको पुछारमा रहेको छ ।