१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा गुजरातको पहिलो हार, हैदरावादले ८ विकेटले हरायो



अ+ अ-

एजेन्सी । सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ । हैदरावादको यो सिजनको लगातार दोस्रो जित हो भने गुजरातले पहिलो हार बेहोरेको छ ।

मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिएको आईपीएल २०२२ को २१ औं खेलमा हैदरावादले गुजरातलाई दिएको १६३ रनको लक्ष्य दुई विकेट गुमाएर पुरा गरेको हो । हैदरावादका लागि कप्तान केन विलियम्सनले ५७ र अभिषेक शर्माले ४२ रन बनाए । अर्कोतर्फ निकोलस पूरनले १८ बलमा ३४ रनमा अविजित रहे ।

गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले केही सुस्त सुरुवात गरे पनि पछि अभिषेक शर्मा र केन विलियम्सनले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे । अभिषेकले ३२ बलमा ४२ रन बनाए । उनलाई रासिदले आउट पारे । तर, केन विलियम्सनले ब्याटिङ सम्हाल्दै ४२ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनी १७ औं ओभरमा ४६ बलमा ५७ रन बनाएर आउट भएका थिए । यसपछि निकोलस पूरन र एडेन मार्करामले मिलेर १४ बलमा ३९ रनको अतुलनीय र म्याच विजयी साझेदारी गरे । उनीहरुको साझेदारीमा हैदरावादले पाँच बल बाँकी रहँदै खेल जित्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई १६३ रनको लक्ष्य दिएको थियो । गुजरातका लागि कप्तान हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले । उनले ४२ बलमा ५० रन बनाएर अविजित रहे । यो उनको आईपीएल करियरको पाँचौं अर्धशतक हो । आफ्नो इनिङ्समा उनले चार चौका र एक छक्का प्रहार गरे । हैदरावादका लागि भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए ।

गुजरातको सुरुवात खराब रह्यो । शुभमन गिल सात रन बनाएर आउट भए । भुवनेश्वरको बलमा राहुल त्रिपाठीले एक हातले डाइभिङ गर्दै उत्कृष्ट क्याच लिए । सोही क्रममा साई सुदर्शन ९ बलमा ११ रन बनाएर आउट भए । म्याथ्यु वेडले पनि खासै केही गर्न सकेनन् । उनी १९ बलमा १९ रन बनाएर आउट भए । डेभिड मिलरले कप्तान हार्दिकसँग चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । मिलर १२ रन बनाएर आउट भए ।

त्यसपछि हार्दिकले अभिनव मनोहरसँग पाँचौं विकेटका लागि ५० रनको साझेदारी गरे । मनोहर २१ बलमा ३५ रन बनाएर आउट भए । उनले खेलमा दुई–दुई पटक जीवनदान पाए । एक पटक एडन मार्कराम र एक पटक राहुल त्रिपाठीले उनको सहज क्याच छोडे । आफ्नो इनिङ्समा मनोहरले पाँच चौका र एक छक्का प्रहार गरे ।

अन्तिम ओभरमा राहुल तेवाटिया चार बलमा ६ रन बनाएर आउट भए । त्यही क्रममा इनिङ्सको अन्तिम बलमा नटराजनले उत्कृष्ट योर्करमा राशिद खानलाई शून्य रनमै क्लिन बोल्ड गराए । हार्दिक ५० रनमा अविजित रहे । तर, १३औं ओभरपछि उनले एउटा पनि चौका प्रहार गरेनन् । अन्तिम ५ ओभरमा गुजरातले तीन विकेट गुमाएर ४४ रन बनाएको थियो । हैदरावादका भुवनेश्वर र नटराजनले समान २–२ विकेट लिए । त्यस्तै मार्को यान्सेन र उमरान मलिकले एक–एक विकेट लिए ।

आजको खेलः चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर – ७ः४५ बजे