२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक हिलाम्य, यात्रा गर्न सास्ती



अ+ अ-

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ । 

बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा  पोखरी बनेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरंजा, बेनी–भकुण्डेलगायत सडक अहिलेसम्म पनि मर्मत गरिएका छैनन् । यात्रुले ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ । “यहाँका कतिपय सडकमा थोरै पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ”, स्थानीयवासी राजकुमार सुवेदीले भन्नुभयो । बेनी–भकुण्डे सडकको अवस्था झन दयनीय छ । बेनी–भकुण्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो । तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन ।  

विसं २०६५ मा उक्त सडक सञ्चालनमा आएको हो । साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि हालसम्म रु एक करोड खर्च भइसकेको छ । सडकको दिन प्रतिदिन बिग्रिदै गएको स्थानीय शोभित सापकोटाले बताउनुभयो । बेनी–भकुण्डे सडकखण्डमा हालसम्म जीप र मोटरसाइकलबाहेक अन्य ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । “पानी नपर्दा मात्रै सवारीसाधन चलाउन सहज हुन्छ”, उहाँले भन्नुभयो ।

बेनी–बगरफाँट–बरङ्जा सडकको पनि यस्तै अवस्था छ । उक्त सडकको मर्मत गर्न थालेको तीन वर्ष भयो । सडकको अवस्था हालसम्म उस्तै छ । निर्माण व्यवसायी नारायण जिसीले ठेक्का लिएको यो सडकको मर्मत कार्य तीन वर्षमा तीन प्रतिशत पनि हुन सकेको छैन । सत्र किलोमिटर दूरीको उक्त सडक सदरमुकाम बेनी बजारदेखि दुई किलोमिटर दुरीमा रहेको बगरफाँटसम्म पनि मर्मत हुन नसक्दा सडकमै पोखरी बनेको छ । 

सडक स्तरोन्नति र मर्मतको जिम्मा लिएका जिसी कन्ट्रक्सनका जिसीले वर्खामा बाढी पहिरो र त्यस अघि कोरोनाको असरका कारण निर्धारित समयमा नै सडकको काम हुन नसकेको बताउनुभयो । त्यसैगरी बेनी–अर्थुङ्गे–पुलाचौर सडकको अवस्था पनि नाजुक छ । थोरै पानी पर्दा पनि सडकमा हिँड्न गाह्रो हुने स्थानीयवासी शिव बानियाँले बताउनुभयो । बेनी–पाखापानी सडकको अवस्था पनि यस्तै रहेको छ । सडक मर्मतको नाममा स्थानीय सरकार र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ । सडकको अवस्थामा सुधार हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।