२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक



अ+ अ-

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गर्नुभयो ।

ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका बिभिन्न जातजातीका गरगहना र पहिरनलाई क्यालेण्डरमा समाबेश गरेको थियो । आउँदो नयाँ वर्षका लागि मध्य तराईको मौलिक संस्कृति मिथिला कलालाई समावेश गरिएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताउनुभयो । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पार्नुभएको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिनुभयो ।

नेपालको मौलिक मिथिला कला तराईको घरघरमा संस्कृतिका रुपमा रहे पनि मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उहाँको भनाइ छ ।

“छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो,” उहाँले भन्नुभयो, “यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।”

कार्यक्रममा कलाकार साहले भिडियो सन्देशमार्फत मिथिला कलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिनुभएको थियो भने अर्का कलाकार ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । सो अवसरमा बैंक अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो ।