२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमित जनशक्तिमा चलेको पशुपति होमियोप्याथिकमा बिरामीको आकर्षण



अ+ अ-

काठमाडौँ । नेपालकै एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालयमा दैनिक ३०० सम्म बिरामी आउने गरे पनि जनशक्ति अभावमा उपचार गर्न धौधौ हुने गरेको छ ।

एक स्थायी र दुई करारका चिकित्सकबाट चिकित्सालय सञ्चालन भइरहेको छ । मागअनुसारको सेवा दिन कम्तीमा पनि १० चिकित्सक स्वास्थ्य मन्त्रालयसँग माग गरेकोे चिकित्सालयका प्रमुख डा प्रेमनारायण श्रीवास्तव बताउनुहुन्छ । यो पद्धतिबाट उपचार गर्ने देशभर एकमात्र सरकारी चिकित्सालय यही भएकाले टेलिमेडिसिन र स्वास्थ्य शिविरको समेत माग बढ्ने गरेको छ । 
 
विसं २०१० मा पशुपति क्षेत्रमा स्थापना भएको चिकित्सालय २०४२ सालमा हरिहरभवनमा स्थानान्तरण गरिएको थियो । पशुपति क्षेत्रमै सञ्चालन हुँदा चिकित्सालयमा दैनिक ५०० भन्दा बढी बिरामी आउँथे । तत्कालीन राजा त्रिभुवन पशुपतिनाथको दर्शन गर्न जाँदा रामनाथ अघोरीले होमियोप्याथिक चिकित्सा पद्धति पनि चाहिन्छ भनेपछि यसको सुरुआत भएको हो । आधुनिक चिकित्सा पद्धतिबाट चित्त नबुझेपछि स्यामुयल हनीम्यानले सन् १७९६ मा होमियोप्याथिक चिकित्सा पद्धतिको आविष्कार गर्नुभएको हो । 
 
नेपालमा यो पद्धति सुरु हुनुअघि विसं २००५ मा फैलिएको हैजा नियन्त्रणका लागि कोलकत्ताबाट चिकित्सक बोलाएर निःशुल्क औषधि वितरण गरिएको थियो । प्रभावस्वरुप हैजा नियन्त्रण भएको इतिहास रहेको चिकित्सालय प्रमुख श्रीवास्तव बताउनुहुन्छ । यसको प्रभावस्वरुप राणाकालमै ज्ञानेन्द्र मेमोरियल होमियोप्याथिक अस्पताल गुल्मी, धनकुटालगायत जिल्लामा खोलिए पनि पछि बन्द भएको थियो । 
 
यो उपचार पद्धतिमा नगण्यमात्रामा औषधि वितरण गरिन्छ । जीवनशैली, आहार, विहारमा ध्यान दिएर रोग ठीक गर्न बिरामीलाई परामर्श दिइने पद्धतिका रुपमा होमियोप्याथिक पद्धति रहेको चिकित्सक डा रामकुमार अधिकारी बताउनुहुन्छ । आधुनिक पद्धतिका मेडिकल चिकित्सक पनि फिस्टुला रोगको उपचारका लागि उक्त चिकित्सालयमा धाउने गरेका छन् । एक ठाउँमा छुँदा अर्को ठाउँमा दुख्ने बिरामी पनि चिकित्सालयमा आउने गरेका छन् । बिरामी बढ्न थालेपछि ल्याब, एक्स–रे लगायत यन्त्रको पनि आवश्यकता देखिएको चिकित्सालयमा कार्यरत डा सरिना अधिकारी बताउनुहुन्छ । चिकित्सालयमा हाल दुई अहेब, चार नर्स, लेखा र प्रशासनमा एक÷एक, कार्यालय सहयोगी पाँच जना कार्यरत रहेको जनाइएको छ । 
 
अस्पतालमा श्यया चलाउन सकिने पूर्वाधार भए पनि जनशक्तिका कारण सम्भव भएको छैन । श्यया चलाउनकै लागि पनि जनशक्तिको थप गर्नुपर्ने प्रस्ताव गरिएको हो । यहाँ थाइराइड, पाठेघर, ट्युमर, माइग्रेन, नशा च्यापिएको, छाला, खिललगायत बिरामीको उपचार हुने गरेको छ । पाठेघरको सिस्ट र पित्तथैलीको पत्थरी होमियोप्याथिक औषधिले ठीक हुने गरेकाले यी रोगका धेरै बिरामी आउने गरेका छन् । 
 
निजीस्तरबाट भने काठमाडौँ, विराटनगर, झापा, तराईका जिल्ला र बुटवलमा फर्मासहितको चिकित्सक सेवा उपलब्ध छ । निजी स्तरबाट भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, विराटनगरमा नेपाल होमियोप्याथिक मेडिकल कलेज सञ्चालनमा रहेकामा हाल बन्द भएको जनाइएको छ । यी कलेजबाट उत्पादित जनशक्तिले काम नपाएपछि यसतर्फ विद्यार्थीको आकर्षण घटेर बन्द हुन पुगेका हुन् ।
 
भक्तपुर होमियोप्याथिक मेडिकल कलेजका सञ्चालक रविन्द्र पुरी कोरोनाका कारण बन्द भएको कलेज अर्को वर्षदेखि सञ्चालनको तयारी भएको बताउनुहुन्छ । पछिल्लो समय विद्यार्थीको पनि यो विषयमा आकर्षण हुन थालेको छ । कोलकत्तामा रहेको नेशनल इन्ष्टिच्युट अफ होमियोप्याथिकले प्रत्येक वर्ष एक जना नेपालीलाई छात्रवृत्ति दिएर एमडी अध्ययन गराउने गरेको छ । विसं २०५७ देखि हालसम्म करिब एक दर्जनले त्यहाँबाट अध्ययन पूरा गरी आएको जनाइएको छ । (रासस)