१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिजवान र बाबरले जिताए पाकिस्तानलाई, भारतको लज्जास्पद हार



अ+ अ-

दुबईः पाकिस्तानले विश्वकप टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको छ ।

आइतबार राति भएको यस खेलमा टस जितेर क्षेत्र रक्षण रोजेको पाकिस्तानले भारतलाई २० ओभरमा १५१ रनमै सीमित गरेको थियो । भारतले ७ विकेटको क्षतिमा १५१ रन बनाएको थियो जसमा कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाएका थिए ।

त्यस्तै भारतका लागि रिषभ पन्तले ३९, केएल राहुलले ३, रोहित शर्माले ०, सूर्यकुमार यादवले ११, रविन्द्र जडेजाले १३, हार्दिक पान्ड्याले ११ तथा भुवनेश्वर कुमारले ५ रन बनाएका थिए ।

पाकिस्तानी तिब्र गतिका बलर शाहिन शाह अफरिदीले तीन महत्वपूर्ण विकेट लिएका थिए । उनले केएल राहुल, रोहित शर्मा र विराट कोहलीलाई आउट गरेका थिए । उनलाई प्लेयर अफ दी म्याच घोषणा गरिएको थियो । त्यस्तै हसन अलिले २, शादब खानले १ तथा हरिस रौफले १ विकेट लिएका थिए ।

१५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले बिना कुनै क्षति लक्ष्य पूरा गरेको थियो । पाकिस्तानका ओपनर जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवानले १७.५ ओभरमै लक्ष्य पूरा गरेका थिए । आजमले ६८ तथा रिजवानले ७९ रन बनाएका थिए ।

पाकिस्तानी ओपनर बिरुद्ध कुनै पनि भारतीय बलर असरदार देखिएका थिएनन् ।

भारत र पाकिस्तान बीच विश्वकप क्रिकेट शृंखलामा पाकिस्तानले यो पहिलो पटक भारतलाई पराजित गरेको हो । यसअघिका विश्वकपका कुनै पनि खेलमा पाकिस्तानले भारत बिरुद्ध जित हात पारेको थिएन ।

आजै आइतबार भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो ।

भोलि सोमबार एक मात्र खेल हुँदैछ । सोमबार स्कटल्यान्ड र अफगानिस्तानबीच नेपाली समय अनुसार साँझ ७.४५ बजे खेल शुरु हुनेछ । एजेन्सी