२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतृत्वका लागि तँछाडमछाड, नीति झन् ओझेलमा



अ+ अ-

काठमाडौँ — कांग्रेस सभापतिका लागि आधा दर्जनभन्दा बढी नेताहरू आकांक्षी छन् । पार्टीको नेतृत्व हत्याउन कोही १३ औँ महाधिवेशन सकिए लगत्तैदेखि देश दौडाहामा छन्, त कोही स्वाभाविक दाबेदारी भन्दै अग्रसर छन् । अब त केन्द्रीय महाधिवेशनका लागि तीन सातामात्रै बाँकी छ । तर, आकांक्षीहरूबीच एकले अर्कालाई उछिन्न आरोप–प्रत्यारोप गर्ने बाहेक न फरक विचारको दस्तावेज छ, न नीति कार्यक्रम र योजना नै ।

बरु सबैले मिलिजुली पार्टीको १४ औं महाधिवेशनमा पार्टीको विचार, नीति र कार्यक्रमहरू प्रस्तुत नगर्ने सहमति जुटाएका छन् ।

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकपछि कांग्रेसले पहिले नेता चुन्ने, अनि नेता अनुकूलको नीति तयार गर्ने बाटो अवलम्बन गरेको छ । यसबाट राजनीतिक घटनाक्रममा छलफल गरेर विचार नबनाउने आरोप खेपिरहेको कांग्रेसमा नीतिगत बहस झन्झ(न् ओझेल पर्ने देखिएको हो । अब मंसिर २४ देखि २७ गतेसम्म हुने महाधिवेशनमा केन्द्रीय कार्यसमितिको निर्वाचनमात्रै हुनेछ भने सांगठनिक वा राजनीतिक दस्तावेज प्रस्तुत हुने छैनन्, न त पार्टीको भावी कार्यदिशामाथि छलफल हुनेछ, न समृद्ध मुलुकको खाकामाथि ।

यो महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिमा दोहोरिन चाहन्छन् । तर, उनकै समूहबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले उनलाई चुनौती दिएका छन् । त्यस्तै, अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिका आकांक्षी छन् । कोइराला परिवारबाट बीपीपुत्र महामन्त्री शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापतिका आकांक्षी छन् । त्यस्तै, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले एउटै महाधिवेशनले नीति र नेतृत्व चुन्दा नीतिमाथिको छलफल कमजोर बन्ने भएकाले पहिले नेतृत्व चयन गरेर पछि अलग्गै नीति महाधिवेशन गर्ने प्रस्ताव गरिएको बताए । ‘विगतमा हाम्रा महाधिवेशन हुँदा नेतृत्वमा मात्रै केन्द्रीत भयो, नीति र कार्यक्रममा कम छलफल भयो भनेर गुनासो आउँथ्यो । म त स्वीकार्छु, त्यो स्वाभाविक पनि थियो,’ प्रवक्ता शर्माले भने, ‘त्यसैले यो महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनका रुपमा लिने, र त्यसपछाडि महाधिवेशनले अधिकार प्रत्यायोजन गरेर नयाँ आउने केन्द्रीय कार्यसमितिले नीति र कार्यक्रम निर्धारण गरेर अघि बढ्ने निर्णयमा पुगेका छौं ।’

प्रवक्ता शर्माले नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिमाथि गहिरो मन्थन गर्न गार्‍हो हुने बताए । ‘सबैको ध्यान कसलाई सभापति वा महामन्त्री वा को, के बन्ने भन्नेमा हुन्छ । त्यस्तोमा नीतिभन्दा नेताकै बढी चर्चा हुन्छ, पार्टीको नीति, कार्यक्रम र मुलुकको समृद्धिको योजना त्यसरी हतारमा बन्दैन,’ शर्माले ईकान्तिपुरसँग भने, ‘त्यसैले नीति र नेतृत्व महाधिवेशनलाई अलग गर्नु जरुरी नै थियो ।’

त्यसो त कांग्रेसले अहिले नै अलग्गै नीति महाधिवेशन हुने वा नहुने भनेर प्रस्ट पारेको छैन । नीति महाधिवेशनको विषय नयाँ आउने कार्यसमितिको तजबिजमा निर्धारित देखिन्छ । ‘कांग्रेस त्यसैपनि नीतिका विषयमा धेरै लामो छलफल गर्ने परिपाटी भएको पार्टी होइन । पहिले पनि नीतिबारे धेरै छलफल हुदैनथ्यो । सबै नेतृत्व चयन महाधिवेशननै हुन्,’राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भने, ‘त्यसैले यो खास कुरा भएन ।’ उनले कांग्रेसको नेतृत्वका आकांक्षीले संविधानको कार्यान्वयनमात्रै गर्छु भनेपनि पुग्ने बताए । ‘संविधानमा नै सबै कुरा छँदैछ । मौलिक हकमा समृद्ध व्यवस्था छ । ती कुरालाई कार्यान्वयन गर्छु भन्दा त पुगिहाल्छ,’पोखरेलले नेतृत्वका आकांक्षीहरूलाई सुझाउँदै भने ।

सातौं महाधिवेशनसम्म कांग्रेसले सभापतिमात्रै चुन्थ्यो । सभापतिले जे बोल्थे, त्यही नीति र कार्यक्रम बन्थ्यो । कांग्रेसको इतिहासबारे जानकार नेता पुरुषोत्तम बस्नेत भन्छन्, ‘कांग्रेसमा यो अभ्यास नयाँ होइन । सातौं महाधिवेशनसम्म यस्तै अभ्यास थियो, त्यसबेला जिल्लाबाट चुनिएका प्रतिनिधिले जिल्लामै भोट हालेर केन्द्रीय सभापति चुन्थे । सभापतिले अरुलाई मनोनित गर्थे ।’

पछि क्रमशः केन्द्रीय सदस्य र पदाधिकारीसमेत निर्वाचित हुने व्यवस्था बन्यो । आसन्न महाधिवेशनबाट त कोषाध्यक्ष बाहेक १३ पदाधिकारी प्रत्यक्ष निर्वाचित छन् । ‘नीति र नेतृत्व एउटै महाधिवेशनले टुंग्याउन सक्दैन भनेर गिरिजाबाबु र किसुनजीले पनि कुरा उठाउनुभयो । एउटै महाधिवेशनले नीति र नेतृत्व दुबै चयन गर्ने गर्दा सबै आ–आफ्नै प्रचारमा लाग्छन् । पार्टीको नीति, कार्यक्रम र योजनाबारे छलफल नै हुदैन । त्यो त ओझेलमा परिहाल्छ । त्यसैले नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिबारे छलफल नहुनु नै राम्रो हो,’ बस्नेत भन्छन्, ‘यो महाधिवेशनबाट जो नेतृत्वमा आउँछ, उसले आफ्नो नीति लागू गर्न सक्छ ।’

कांग्रेसले राम्रो नीति बनाउने योजना बनाएर यो महाधिवेशनलाई नेतृत्व महाधिवेशनमा बदलेको पनि होइन । अहिले नीतिबारे छलफल गर्दा महाधिवेशन हप्तौंसम्म लम्बिने र संवैधानिक संकटले पार्टी अफ्ठयारोमा पर्ने भएपछि केन्द्रीय समितिको निर्वाचन प्राथमिकतामा परेको हो । तर, नीति बिनाको नेतृत्व चयनले मात्रै कांग्रेसलाई कहाँ पुर्‍याउँला रु कांग्रेसभित्रै पनि यो बहस छ । नीतिअनुरुपको नेतृत्व कि नेताअनुसारको नीति रु नेताहरूकै मत विभाजित छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीमा सभापतिका उम्मेदवारले समेत आफ्नो स्पष्ट विचार, नीति र कार्यक्रम अघि नसार्नु आश्चर्यलाग्दो भएको बताउँछन् । ‘पार्टीमा विचार, नीति योजनाको आधारमा प्रतिष्पर्धा हुनै छाड्यो । गुटको प्रतिस्पर्धाले प्राथमिकता पाएको छ,’पौडेल भन्छन्, ‘सभापतिका उम्मेदवारहरूसँगै नीति छैन । राम्रो नीति ल्याउने मान्छे पो पार्टीको नेतृत्वमा पुग्नुपर्ने हो । यहाँ त जसको गुट बलियो छ, उ नेता हुने भयो । यसरी पार्टी कसरी बलियो बन्छ रु’

पौडेल नेतृत्व चयन हुनुभन्दा अगावै नीतिमाथि छलफल भइसक्नुपर्ने बताउँछन् । ‘कार्यकर्ताले नेताको अनुहार हेरेर नेतृत्वमा पुर्‍याउने होइन, नीति कस्तो छ रु त्यो हेरेर नेता चुन्ने हो । त्यसैले नेतृत्व चयनकै बेलामा नीतिमाथि मन्थन हुनुपर्ने हो,’ पौडेल भन्छन्, ‘अहिले सभापति हुने बेला त नीति अघि नसार्ने नेताले भोलि के नीति बनाउलान् रु यसरी त झन् नीति ओझेलमा पर्दै जान्छ ।’ नेता पौडेलले आफू ‘जसको नीति, उसको नेतृत्व’ हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे भने कांग्रेसमा नीतिगत प्रतिस्पर्धा नहुने गरेको दाबी गर्छन् । ‘नीतिगत प्रतिस्पर्धाको अभ्यास कांग्रेसमा छैन, हामी समूहगत प्रतिस्पर्धा गर्दै आएका हौँ,’ उनले भने, ‘हाम्रो नीति पार्टीको हुन्छ, पार्टीले साझा विचार, नीति, योजना र कार्यक्रम अघि सार्ने हो । त्यहीअनुसार पार्टी चल्छ ।’ उनले कोरोनाका कारण पार्टीले नेतृत्व र नीति महाधिवेशन अलग–अलग गर्ने निर्णय गरेको बताए । (कान्तिपुर दैनिकमा समाचार छ)




भर्खरै