४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रम देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनुभएको छ ।

बझाङका जनप्रतिनिधिले आज उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म अविरल बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले बझाङमा ठूलो जनधनको क्षति भएको थियो । 

भेटमा प्रधानमन्त्री देउवाले सो विपद् लगत्तै आफै स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बाढीपहिरो प्रभावितलाई आवश्यक सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण बारे सरसल्लाह हुदैछ ।”

खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले बाढीपहिरोले कतिपय स्थानमा राजमार्ग नै पूरै बगाएकाले नयाँ र दिगो बाटो बनाउन दातृ निकायसँग समेत कुरा गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवालाई बझाङस्थित सबै दलका सङ्घीय र स्थानीय जनप्रतिनिधिले सामूहिक रुपमा भेटेर बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न मागसहतिको ज्ञापनपत्र बुझाउनुभएको थियो ।

उक्त बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । जिल्लाका झण्डै ५०० परिवार भन्दा बढीको घरखेत बगाएर उठिबास भएको र २०० भन्दा बढी परिवार सुकुम्वासी भएको जनप्रतिनिधिले जानकारी गराउनुभएको छ ।

बाढीपहिरोले जिल्लामा भएका अधिकांश सरकारी तथा गैरसरकारी भौतिक संरचना सडक, विद्यालय भवन, सिँचाइ नहर तथा सिँचाइ कुला, स्वास्थ्य संस्था, सार्वजनिक भवन तथा धार्मिकस्थल, झोलुङ्गे पुल, विद्युत् गृह तथा विद्युत्लाईन, पक्की मोटेरेबल पुलसमेत बगाएका छन् ।  

पीडित परिवारलाई तत्कालै आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, भौतिक संरचना पुनःनिर्माणका लागि छुट्टै परियोजना युनिटको स्थापना गर्न, खेतीयोग्य जमिन सुधार गर्न “कामका लागि दाम” कार्यक्रम सञ्चालन गर्न, पूर्णरुपले क्षति भएका घरपरिवार र घर जमिन बगाएका बस्तीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न जनप्रतिनिधिले माग गर्नुभएको छ ।

दक्षिण एशियालाई जोड्ने नेपालको सबै भन्दा छोटो त्रिदेशीय नाकाका रुपमा रहेको चैनपुर ताक्लाकोट सडकलाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरी दू्रतगतिमा काम अगाडि बढाउनुपर्ने समेत उहाँहरुको माग छ । भेटमा सांसद भैरबबहादुर सिंह, प्रकाश रसाइली, संविधानसभा सदस्य चन्द्रादेवी जोशी, अफिलाल ओखेडा, जिल्ला समन्वय समिति बझाङका संयोजक खडकबहादुर खड्का,  जिल्लास्थित प्रमुख दलका स्थानीय नेतृत्व, सबै स्थानीय तहका प्रमुख र नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो । रासस