२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

खिजीदेम्बामा एम्बुलेन्स आयो, प्रयोगमा आएन



अ+ अ-

ओखलढुंगा – ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेपनि सेवा दिन सुरु गरेको छैन । विभिन्न कारण देखाउँदै पालिकाले एम्बुलेन्स खरिद गरेको दुई महिना पुग्न लाग्दा समेत सेवा सुरु नगरेको हो ।

गत साउन २४ गते गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले एम्बुलेन्स बुझ्नु भएको थियो । तर अहिले सम्म उक्त एम्बुलेन्सको सेवा लिन नपाएको स्थानीयले गुनासो गरेका छन् । नागरिकको सेवाका लागि गाउँपालिकाको रकमबाट खरिद गरिएको एम्बुलेन्स स्थानीयले प्रयोग गर्न नपाएको स्थानीय प्रेम श्रेष्ठले गुनासो गर्नुभयो । ‘पालिकाले एम्बुलेन्स किनेको खबर सुन्दा अब हाम्रा दुखका दिन गए भन्ने लागेको थियो’ उहाँले भन्नुभयो ‘यहाँका नागरिकलाई विरामीहुँदा एम्बुलेन्स प्रयोग गर्ने सपना हात्ति आयो हात्ति आयो फुस्सा भनेझै भो ।’ श्रेष्ठका अनुसार गाउँका स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा नभएपछि सामान्य उपचारका लागि पनि ओखलढुंगाको पश्चिमी क्षेत्रका नागरिक रामेछापको सदरमुकाम मन्थली र राजधानी धाउन बाध्य छन् ।

स्थानीयवासीको समस्या त्यस्तै
गाउँपालिकाले ल्याएको एम्बुलेन्स प्रयोग गर्न नपाएका खिजीदेम्बाका नागरिकको अवस्था विगत जस्तै छ । आफन्त बिरामी हुँदा सक्नेले हेलिकप्टर चार्टर गर्छन् । नसक्नेले डोको र स्टेचरमा बोकेर उपचारका लागि नजिकैका स्वास्थ्य संस्था लैजान्छन् ।

शनिवार ओखलढुंगाको रगनीबाट काठमाण्डौका लागि छुटेको बसमा निकै भिड थियो । नियमित सञ्चान हुने एउटा मात्रै सवारीमा शिक्षक सेवा आयोगको परीक्षामा सहभागिहुन जाने र काम विशेषले गन्तमा जानेको भिड थियो । साल्पुबाट छुटेको बस डाँडागाउँ आईपुग्दा स्टेचरमा एउटा विरामी राखेर केही मानिस बस पर्खिएर बसेका थिए । विरामी खिजीदेम्बा १ कि कृष्णमायाँ सुनुवार हुनुहुन्थ्यो । सुरुमा त बसका चालकले विरामी राख्ने ठाउँ नभएकाले अरु विकल्प खोज्न आग्रह गरे तर विकल्प नभएको गुनासो गरेपछि विरामी बोक्न तयार भए । स्टेचरको विरामी बल्ल तल्ल बस भित्र लगियो तर राख्नेठाँउ भएन र यात्रु अघिपछि गर्ने बिचभागमै तेस्र्याइयो । डाँडागाउँबाट रामेछापको ढाँडेसम्म पु¥याउँदा विरामीको अवस्था झन जटिल बन्यो । विरामीलाई बसमा राखेर अघि बढाउन नसक्ने अवस्था आएपछि ढाँडेको एउटा मेडिकलमा उपचारका लागि भर्ना गरियो ।

रगनीकै दिर्गमायाँ श्रेष्ठलाई शुक्रबार सर्पले डस्यो । उनलाई तत्काल उपचारका लागि लैजाने परिवारले तयारी ग¥यो । तर साधन नपाएर लैजान सकेन । उहाँ पनि शनिवार सार्वजनिक सवारीमा चडेर उपचारका लागि मन्थली जानुभयो । मन्थलीमा उपचार सम्भव नभए काठमाण्डौ पुग्ने उहाँको योजना थियो । सर्पले डसेको लामो समय सम्म उपचार गराउन नपाउँदा बढी पिडा महसुस भएको उहाँले सुनाउनु भयो ।

कृष्णमायाँ र दिर्गमायाँको समस्या प्रतिनिधि घटना मात्रै हो । खिजीदेम्बा क्षेत्रका नागरिक सामान्य उपचारबाट निको हुने रोग खपेर बस्ने गरेका छन् । रोगले बढी च्यापेपछि हतारोमा रेफर गरिएका विरामीलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पु¥याउन समस्या छ । समयमै सहजरुपमा स्वास्थ्य संस्था लैजान नसक्दा वर्षेनी खिजीदेम्बा क्षेत्रमा गर्भवती आमा र नवजात शिशुको ज्यान जाने गरेको छ ।

ट्रयाक्टरलाई रु पैंतालिस हजार

खिजीदेम्बा ३ चण्डेश्वरीकी दुतमाया परियारको केही दिन अघि मृत्यु भयो । उहाँको शव पोष्टमार्टमका लागि रामेछापको मन्थली लैजानुपर्ने भएपछि दुतमायाँका छोरा देवीराजले गाउँपालिकाको एम्बुलेन्स मगाउन प्रयास गर्नुभयो तर पाउनु भएन । ‘पुलिस पोष्टमार्टम नगरि हुन्न भन्छ, बोकेर लैजाने अवस्था थिएन, एम्बुलेन्स माग्दा उद्घाटन पनि भएको छैन चालक पनि छैन भनियो,’ देवीराजले भन्नुभयो । ‘तीन दिन सम्म कुनै विकल्प नभएपछि पैँतालीस हजार दिएर मन्थलीबाट ट्रयाक्टर बोलाएँ ।’ शव मन्थली गरेर पोष्टमार्टम गरेर घर फर्कीँदा सम्म १ लाख भन्दा बढि खर्च भएको उहाँको भनाई छ ।

गाउँपालिकाले भने एम्बुलेन्स सुरु गर्ने प्रकृया मिलाउने काम भईरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष वेद बहादुर रोकाले यातायातमा दर्ताका लागि एम्बुलेन्स लहान पठाईएको बताउनुभयो । एम्बुलेन्स सञ्चालनका लागि नितीगत निर्णय गर्नुपर्ने भएकाले एम्बुलेन्स सेवा सुरु गर्न केही समय लागेको जनाईएको छ ।

दश लाख १२ हजार ४ सय लागतमा खिजीदेम्बाले एम्बुलेन्स खरिद गरेको छ । नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा गाउँपालिका ओखलढुंगाको एक मात्र स्थानीय तह हो ।