२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरायो लिङ्गे पिङ



अ+ अ-

भक्तपुर ३१ असोज (रासस) ः दशैँको बेलामा आकर्षक रुपमा खेलिने लिङ्गे पिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ ।

केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि काठमाडौँ उपत्यकामा देख्नसमेत मुस्किल परेको छ । दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्नेको प्रतिस्पर्धा नै हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् ।

दशैँका आगमनको शुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्यरुपमा मात्र केही स्थानमा देख्न पाईन्छ । दशैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् ।

एउटा जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङहरु यस वर्ष भक्तपुर शहर क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्ँिलदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बावियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हँुदै गएको चाँगुनारायण नगरपालिका–९ का ७२ वर्षीय रामेश्वर खत्रीले बताउनुभयो ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उहाँको भनाइ छ ।

वर्षको एक पटक जमीनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेल्ने दशैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ ।

सूर्यविनायक नगरपालिका–१ सिरुटारकी की २६ वर्षीया अनुषा आचार्यले पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न चाहना तीन वर्षदेखि अधुरै रहेको बताउनुभयो । विगतमा बाटोबाटोमा पिङ भेटिने भएकाले मामाघर जाँदा र अन्य क्षेत्रमा जाँदा पिङ खेल्न पाइने तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्नसमेत नपाइएको उहाँको भनाइ छ ।

केही युवापुस्ता भने पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको बताउँछन् । मध्यपुरथिमि–३ कौशल्टारका मनिष गौतमले पिङभन्दा पनि इन्टरनेटलगायत विभिन्न गेम खेल्ने भएकाले पिङको महत्व घट्दै गएको बताउनुहुन्छ ।

नयाँ पुस्ता दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व घट्दै गएको उहाँको भनाइ छ । पिङ जस्तै दशैँमा मासु, चिउरा खाएर कौसीमा बसेर परिवारसँग रमाउँदै आकाशमा चङ्गा उडाउने परम्परा पनि लोप हुँदै जान थालेको छ । काँठ क्षेत्रमा विगत केही वर्षदेखि चङ्गा उडाउने परम्परा घट्दै गएको र यो वर्षदेखि केही बालबालिकामा मात्र सीमित बन्न पुगेको छ ।

एकातिर बस्ती बाक्ँिलदै जानु र अर्कोतर्फ तास खेल्ने विकृति बढ्दै गएकाले पनि चङ्गा उडाउने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दशँैको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा तथा ओखर खेल्ने परम्परा करीब लोप भएको छ । यो दुईवटै खेललाई कानूनीरुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि करीब लोप भएको छ ।

विशेषगरी पिङ खेल्ने परम्परा, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दशैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । काँठ क्षेत्रमा दशँैको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दशैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएपछि काँठको दशैँ एकादेशको कथा बन्दै गएको हो ।