६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्तरोन्नति भए पनि पूर्णरुपमा काम हुन सकेन



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालय स्तरोन्नति भए पनि भौतिक पूर्वाधार संरचना र कर्मचारी अभावमा पूर्णरुपमा काम हुन सकेको छैन । यसअगावै छोटी भन्सार कार्यालयका रुपमा रहेकामा हाल मूल भन्सारमा स्तरोन्नति गरेपनि आवश्यक गोदाम, सडक तथा अन्य भौतिक पूर्वाधार संरचना पूर्वाधार प्रयाप्त नहुँदा पूर्णरुपमा काम हुन नसकेको हो ।

निकासी पैठारीमा समस्या आएको छ । मूल भन्सारका लागि आवश्यक भौतिक पूर्वाधार यस नाकालाई नहुँदा राजस्व सङ्कलनमा प्रत्यक्ष असर पुगेको देखिन्छ । आवश्यक बजेट र पूर्वाधार तयार पारेर मूल भन्सार कार्यालयलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन् ।

महेशपुर नाका मूल भन्सारका रुपमा स्तरोन्नति हुनु निजी क्षेत्रका लागि गौरव भएकालाई तत्कालै राज्यले आवश्यकताअनुसार भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।

साँघुरो सडक भएका कारण ठूला सवारीसाधन चल्न नसक्दा यस नाकाबाट आयात निर्यात गर्न व्यवसायी मानेका छैनन् । क्वारेन्टाइन चेकपोष्ट, तरकारीका लागि विषादी मापन गर्ने प्रयोगशाला र गोदामका लागि आवश्यक र सडक चौडा बनाउन मूलरुपमा आवश्यक देखिन्छ । जग्गा अधिग्रहण गरी भौतिक पूर्वाधार संरचना व्यवस्थापन गर्ने मुख्य योजना रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख प्रमुख हेमचन्द्र शर्माले जानकारी दिनुभयो ।

विसं २०१५ देखि छोटी भन्सारका रुपमा महेशपुर नाका गत असार २० गतेको मन्त्रिपरिषद्को बैठकले छोटी भन्सारलाई साउन १ गतेदेखि मूल भन्सारका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । आवश्यक पूर्वाधार निर्माण गरेर पूर्णरुपमा भन्सार सञ्चालन भएमा यस क्षेत्रको विकास हुनुका साथै राज्यलाई पनि राजश्व सङ्कलनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

यस क्षेत्रमा अहिले सडक बिस्तार मुख्य चुनौती भएकाले यसका लागि स्थानीयले सहजीकरण गर्नुपर्ने प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । महेशपुर नाकामा अब मुलुकभरका व्यवसायीको आयात र निर्यातको केन्द्र बन्ने भएकाले यस क्षेत्रका व्यापारी र स्थानीय हर्षित बनेका छन् । अहिलेको अवस्थामा महेशपुर नाकामा सडक सञ्जाल मुख्य समस्या देखिएकाले महेशपुर क्षेत्रका स्थानीयवासीले सडक विस्तारमा सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । रासस