२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी खाद्य संस्थानको कर्मचारीको काम : दिउँसो त्रिपाल निकाल्ने र रातमा छोप्ने



अ+ अ-

बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो ।

संस्थानका तीन गोदाम चामलले भरिएका कारण अहिले खरिद गरिएको केही धान बाहिरै राख्नुपरेको खाद्य संस्थान नेपालगञ्जका प्रमुख हरि जोशी बताए । अहिले संस्थानमा बाहिर राखिएको सहित ३२ हजार क्विन्टल धान÷चामल ‘स्टक’ रहेको छ । यसरी खुला मैदानमा त्रिपालमुनि राखिएकामध्ये आठ हजार क्विन्टल धानको मात्रै बिमा गरिएको जोशी बताए ।

संस्थानले खरिद गरेको धान र कुटाएको चामल राख्न भाडामा गोदाम खोजी गरे पनि हालसम्म पाउन नसकेको जोशीले बताउनुभयो । उक्त चामल र धान पहाडी तथा हिमाली जिल्लामा पठाउन संस्थानमा राखिएको हो । गोदाममा रहेको करीब पाँच हजार क्विन्टल चामल जुम्ला र कालिकोटमा पठाइसकिएको छ ।

प्रमुख जोशीले मुगु, जाजरकोट र डोल्पामा पठाउने तयारी भइरहेको बताउँदै अहिले करीब १५ हजार क्विन्टल जापानी चामल आएको जानकारी दिनुभयो । उक्त चामल राख्न दुई गोदाम प्रयोग भएका छन् । एउटामा १० हजार र अर्कोमा पाँच हजार क्विन्टल जापानी चामल राखिएको छ ।

उनले भने, “यसले पनि यहाँ खरिद गरिएको धान राख्न समस्या भएको हो ।” संस्थानका तीन गोदाममध्ये दुईमा जापानी चामल छ भने बाँकी एउटा गोदाममा यहाँ खरिद गरिएको केही क्विन्टल धान र कार्यालयका सामग्री थुपारिएको छ । “गोदाम अभावमा खरिद गरिएको धान र चामल गोदाम बाहिरै त्रिपालमुनि राख्नुको विकल्प छैन”, उनले भने, “दिउँसो त्रिपाल निकाल्ने र रातमा त्रिपालले छोप्ने काम चलिरहेको छ ।”

नेपालगञ्जमा धान राख्ने स्थानको समेत अभाव देखिएको छ । यहाँबाट खाद्यान्न पठाउनुपर्ने कर्णाली प्रदेशका विभिन्न जिल्लामा भने चामलको अभाव भइरहेको छ । कर्णालीका विभिन्न जिल्ला पठाउनुपर्ने चामलसमेत नेपालगञ्जमै थुपारिएको छ । संस्थानका कार्यालय प्रमुख जोशीले भने, “समस्यै समस्याबीच कर्णालीका केही जिल्लामा थोरै भए पनि चामल ढुवानी भइरहेको छ ।”

उनका अनुसार कर्णाली प्रदेशको मागबमोजिम सबै जिल्लामा चामल ढुवानी भने गर्न सकिएको छैन । संस्थानमा रहेको मौज्दात चामल ढुवानी गर्ने र संस्थान परिसरमा त्रिपालमुनि रहेको धान कुटाई सुरक्षित भण्डारणका लागि साल्ट ट्रेडिङको गोदाम माग गरिरहेको कार्यालय प्रमुख जोशीले जानकारी दिए ।