४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षालाई वैज्ञानिक र रोजगारमूलक बनाउनुपर्छ : प्रम देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिनुभएको छ । 
 
मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले  मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबीच सहकार्य गरी उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्ने उहाँको जोड थियो ।
 
प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिड–१९ को महामारीका कारण नेपाललगायत विश्व समुदायका सबै क्षेत्र प्रभावित भएको र यसमा पनि शिक्षा क्षेत्र अझ संवेदनशील र सतर्कता अपनाउनुपर्ने क्षेत्र भएकाले बढी प्रभावित भएको सबैलाई विदितै छ । यस्तो विषम परिस्थितिमा समेत अनलाइन तथा वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन क्रियाकलाप गर्दै परीक्षासमेत सञ्चालन गर्न यस विश्वविद्यालयले गरेको प्रयासहरु प्रशंसनीय छन् ।”
 
उहाँले कर्णाली प्रदेशको समग्र विकासका लागि विद्यमान प्राकृतिक सम्पदा, परम्परागत ज्ञान र सीपहरुको अध्ययन, अनुसन्धान तथा बजारीकरण गरी जनताको जीवनस्तर माथि उठाउन प्राविधिक र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
 
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार शिक्षाको गुणस्तर वृद्धि गर्न, शैक्षिक योजना र कार्यक्रमहरूलाई अनुसन्धानमुखी बनाउन, सामाजिक विज्ञानका विभिन्न विधा तथा आयामहरूको समसामयिक अध्ययन अनुसन्धान गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले समाज रुपान्तरणको प्रक्रियासँग प्राज्ञिक क्रियाकलापलाई जोड्न यस विश्वविद्यालयले तयार गरेका विभिन्न शैक्षिक योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्दै विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सलेन्स’का रूपमा विकास गर्न वर्तमान नेतृत्वलाई आवश्यक कार्य योजना बनाई अगाडि बढ्न आग्रह गर्नुभयो ।
 
शिक्षामा भएको लगानीबाट प्राप्त हुने उपलब्धिले हरेक मुलुकको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस विश्वविद्यालयले हाम्रो राष्ट्रिय शिक्षा नीतिले निर्दिष्ट गरेका स्थानीय तथा राष्ट्रिय आवश्यकताहरुलाई परिपूर्ति गर्ने र विश्व श्रम बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति उत्पादन गर्नु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।” 

प्रधानमन्त्री देउवाले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी र पूँजी विदेश पलायन भइरहेको सन्दर्भमा यस विश्वविद्यालयले समयानुकूल योजना र पाठ्यक्रमहरू बनाई यसको प्रभावकारी कार्यान्वयनद्वारा स्वरोजगार सिर्जना गर्न सक्षम जनशक्ति उत्पादन गर्न निरन्तर प्रयत्नशील रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
 
उहाँले विश्वविद्यालयले भौतिक पूर्वाधारको यथोचित प्रबन्ध, शैक्षिक कार्यक्रमहरूको प्रभावकारी सञ्चालन र योग्य जनशक्ति व्यवस्थापन गर्दै आर्थिक तथा व्यवस्थापकीय सुशासन कायम गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)