२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सातादेखि तीन बालक बेपत्ता



अ+ अ-

लहान । सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो ।

लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ । लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ ।

होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात-आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताउनुभयो । आफ्नो छोरा मनकामनाको होस्टेलबाट नै बेपत्ता भएको जिकिर गरे पनि उक्त बोर्डिङका सञ्चालक बद्रीनारायण चौधरीले लीलाकान्त होस्टेलबाट घर जानका लागि निस्किएको अवस्थामा बेपत्ता भएको हुनसक्ने जानकारी दिनुभयो ।

त्यस्तै सिरहाको सखुवानन्कारकट्टीका एकै परिवारका तीन बालक विगत एक सातादेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका एक बालकलाई काठमाडौँ विराटनगर चल्ने बसमा खलासीको काम गरिरहेको अवस्थामा फेला पारेर परिवारको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । यसरी विगत एक महीनाको अवधिमा लहान क्षेत्रबाट सात बालक बेपत्ता भएका छन् । विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैङ्गिक आत्मीयता, लागुऔषध सेवन गर्ने साथीसङ्गतको प्रभाव, घरायसी विवाद, अपराधिक क्रियाकलाप, भड्किलो लवाइखवाइका कारण बालकहरु बेपत्ता हुने क्रम बढ्ेको जानकारहरुले बताए ।

सानै उमेरमा आफू अनुकूलको काम गर्न नपाएको र घरपरिवार तथा शिक्षकहरुबाट अनुशासनमा राख्न प्रयत्न गर्न खोज्दा बालकहरु घर र विद्यालय छोडने क्रम बढेको स्थानीयवासी ब्रह्मदेव साहको भनाइ थियो । बालकहरु घर छाडी अन्यत्र गएर आपराधिक क्रियाकलाप तथा लागुऔषध सेवनलगायत कार्यमा लाग्ने गरेकाले यस विषयमा अभिभावकहरु सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

यता प्रहरी नायब उपरीक्षक थापाले बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको बताउनुभयो । बालकहरु बढी स्वतन्त्रता खोज्न घरपरिवारबाट टाढा बस्ने उद्देश्यले बेपत्ता हुने क्रम बढेको भन्दै उहाँले यस्ता घटनालाई न्युनीकरण गर्न सीमाक्षेत्रका साथै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भन्नुभयो ।