१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप त सिकियो, काम खोजिदिनुस्…..



अ+ अ-

संकेतिक फोटो

तनहुँ कारागारमा सजाय भोगिरहनुभएका होमबहादुर दर्जी तीन महीने सिलाइकटाइ तालीम लिएपछि उत्साहित हुनुहुन्छ । घरेलु तथा साना उद्योग विकास समिति र व्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालीमले उहाँलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ ।

कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छाबमोजिम तालीममा सहभागी हुनुभएका उहाँले सीप सिकेपछि अब कामको माग गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सीप त सिकियो, अब कामको खोजी गरेका छौँ ।”

उहाँको कैद भुक्तानी हुन अब दुई महीना बाँकी छ । कैद भुक्तान गरेर बाहिर निस्केपछि समेत सिलाइकटाइ व्यवसाय सञ्चालन गर्ने सोच बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणवश कारागार आएर सजाय काटेँ, अब बाहिर निस्केर उद्यमी बन्ने सोच लिएको छु ।”
कारागारमा नौ महीनादेखि सजाय काटिरहनुभएका गणेशबहादुर गुरुङले समेत तालीमपछि अबको कामको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । तालीमले उत्साहित बनाएको भन्दै उहाँले कारागार प्रशासनले कामको खोजी गरिदिनुपर्ने उहाँले माग गर्नुभयो । उहाँले भन्नुभयो, “आफूको मागबमोजिम नै कारागारले सिलाइकटाइ तालीमको व्यवस्था गरिदियो, अब कामको पनि व्यवस्था गरिदिए हामीलाई सहज हुन्थ्यो ।”

होमबहादुर र गणेशबहादुर जस्तै कारागारमा सजाय भोगिरहेका ११ जना कैदीबन्दी सिलाइकटाइ तालीमपछि उत्साहित भएका छन् । कारागारमा यत्तिकै बितिरहेको समयलाई सदुपयोग गर्दै सिलाइकटाइ तालीम लिएपछि उनीहरुमा उद्यमी बन्ने सोच पलाएको छ ।

कारागारबाट निस्किएपछि सिलाइकटाइ तालीम सञ्चालन गरेर उद्यमी बन्ने ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । सिलाइकटाइ तालीम लिनुभएका मोतीलाल गुरुङ, नुर अहमद मियाँ, मोतीलाल सुनार, सन्तबहादुर श्रेष्ठ र विष्णुकान्त परियारले समेत अब काम खोजीदिन आग्रह गर्नुभएको छ ।

माघ २४ गतेदेखि शुरु भएको तालीममा प्रशिक्षक मानबहादुर परियारले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको क्रममा कैदीबन्दीलाई मेसिन फिटिङ गर्ने, कपडा काट्ने, टाँकघर बुन्ने, पेटीकोट सिलाइ, सर्ट सिलाइ, पाइन्ट सिलाइलगायतका सीप प्रदान गरिएको दर्जीले जानकारी दिनुभयो ।

जिल्ला कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीको मागबमोजिम नै सिलाइकटाइ तालीम सञ्चालन गरिएको जानकारी दिँदै अबको कामको व्यवस्थाको लागि पहल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका काम कारागारमा पनि उपलब्ध गराउन प्रयास भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तालीमले कैदीबन्दीलाई आत्मनिर्भर बन्न सहयोग पुगेकोले कैदीबन्दीले सीपको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले कारागारमा रहेका अन्य कैदीबन्दीका लागि समेत माग बमोजिम तालीमको व्यवस्था गरिने जानकारी दिनुभयो । २५ जना क्षमता रहेको तनहुँ कारागारमा ६९ थुनुवा र ६७ कैदी गरी १३६ जना रहेका छन् ।




भर्खरै