१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको ४० करोडका अत्याधुनिक मेसिन बिरामी



अ+ अ-

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले ४० करोड ९८ लाख रुपैंयामा खरिद गरेर ल्याएका दुईवटा नयाँ अत्याधुनिक मेसिनहरू झन्डै एक वर्षदेखि थन्किएका छन्।

सार्वजनिक खरिद प्रक्रिया मिचेर अनियमित किसिमले औषधि उपकरणहरू खरिद गरिएको भन्दै विवाद भएपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा दुई थान ती मेसिनहरू थन्किएका हुन्। ‘न्युरो सर्जरी इक्विपमेन्ट’ थन्किँदा बिरामीहरू मारमा परेको अस्पतालका कर्मचारीहरूले बताएका छन्।

‘न्युरो सर्जरी इक्विपमेन्ट’ले कुनै पनि अपरेसनलाई यथाशीघ्र पूरा गर्न मद्दत गर्ने डाक्टरहरू बताउँछन्। न्युरो सर्जन डा राजीव झाका अनुसार अपरेसनका क्रममा प्रविधिले २० देखि ३० प्रतिशत सहज बनाउँछ। तर, सोही उपकरणको खरिद प्रक्रिया नमिल्दा मेसिन थन्किएको र प्रयोग गर्न सकिएको छैन।

सार्वजनिक खरिद पुनरावलोकन समितिले ‘इन्ट्रा–अपरेटिभ सिटी विथ हाई इन्ड नेभिगेसन सिस्टम सिटीसम्बन्धी अत्याधुनिक मेसिन’ खरिद प्रक्रिया गैरकानुनी भएको ठहर गरेको छ । समितिले बोलपत्र माग गर्दा एक उपकरण सेट माग गरे पनि दुई उपकरण खरिद गरेको जनाएको छ।

सार्वजनिक निकायले बोलपत्र पेस गरेकोमा दुई सेटको प्रस्तुत भएको हुँदा दुई सेटको रकम आफैंले दोब्बर बनाई सम्झौता गर्नु गैरकानुनी काम भएको समितिको निष्कर्ष छ। सार्वजनिक निकाय र बायोमेडबीच भएको सम्झौताले कानुनी मान्यता नपाउने भन्दै समितिले भनेको छ, ‘सार्वजनिक निकायसँग प्रतिक्रिया माग गरिएकोमा पहिले गरेको बोलपत्र मूल्यांकन जारी आशयको सूचना एवं खरिद सम्झौताका कानुनी आधार तथा वस्तुगत रूपमा प्रतिक्रिया पेस गरिएको छैन। र, सम्झौता विधिसम्मत भएको दाबीसमेत गरिएको छैन। अतः सार्वजनिक निकाय र बायोमेडबीच भएको सम्झौताले कानुनी मान्यता ठहर गर्दैन।’

२०७४ असार ३० गते खरिदकर्ताको तर्फबाट वीर अस्पतालका तत्कालीन निर्देशक प्राडा भूपेन्द्र बस्नेत र आपूर्तिकर्ताको तर्फबाट बायोमेड इन्टरनेसनल प्राइभेट लिमिटेडबीच सम्झौता भएको थियो। सम्झौतापत्रमा मेसिन खरिद सम्झौता भएको ९० दिनभित्र अस्पतालमा ल्याई परीक्षणसमेत गराई बुझाउनुपर्ने उल्लेख छ। यस्तै, प्रतितपत्र खोल्दा ७० प्रतिशत र ३० प्रतिशत पेमेन्ट अफ डोर डेलिभरिका आधारमा भुक्तानी गरिने भनिएको खबर राजधानी दैनिकमा प्रकाशित छ ।