६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई मोदीको निम्ता, बिहीबार बिहान दिल्ली जाने



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली समकक्षी केपी शर्मा ओलीलाई निम्तो पठाएका छन् । मोदीको शपथग्रहण बिहीबार साँझ हुँदै छ ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा उनको पार्टी भाजपाले बहुमत हासिल गरेको छ । भारतीय पक्षले काठमाडौंस्थित भारतीय दूतावासमार्फत ओलीलाई शपथग्रहणमा आमन्त्रण पठाएको स्रोतले जनायो ।

संघीय संसद्मा बुधबार आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेस गरिने भएकाले प्रधानमन्त्री ओली शपथग्रहणकै दिन बिहीबार बिहान दिल्ली आउने पनि स्रोतले जनायो । बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर उनी भोलिपल्ट काठमाडौं फर्कनेछन् । दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने सम्भावना छ । मोदीको निम्तोका सम्बन्धमा दिल्लीस्थित नेपाली अधिकारीहरूले भने अनभिज्ञता व्यक्त गरे ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बन्दा मोदीको शपथग्रहणमा सार्क राष्ट्रका सरकार प्रमुखलाई निम्तो गरिएको थियो । त्यतिबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए । यस पटक भने मोदीले बिमस्टेक राष्ट्रका सरकार प्रमुखलाई बोलाउने तयारी गरेका छन् ।

सार्क राष्ट्रमा निम्तो पठाउँदा पाकिस्तानलाई पनि बोलाउनुपर्ने भएकाले बिमस्टेक राष्ट्रका सरकार प्रमुखलाई बोलाउन लागिएको स्रोतको दाबी छ । औपचारिक निम्तो भने सम्बन्धित मुलुकका सरकार प्रमुखको समयतालिका हेरेर मात्र पठाउने जनाइएको छ । स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको कान्तीपुर दैनिकमा समाचार प्रकाशित छ ।