काठमाडौं । गरीब र विपन्न परिवार प्रायः जोखिमपूर्ण ठाउँमा बसोवास गर्ने भएकाले प्राकृतिक प्रकोपबाट तिनै परिवार बढी मारमा पर्दै आएका छन् । जनसङ्ख्या वृद्धि, अव्यवस्थित शहरीकरण र जोखिम असंवेदनशील विकास कार्यले विपद् सङ्कटासन्नतामा वृद्धि हुँदा पुर्नलाभ एवं पुनःस्थापनामा समेत उनीहरुले पर्याप्त पहुँच पाउँदैनन् ।
विपद् जोखिमका दृष्टिले २०औँ मा पर्ने नेपालमा पहिरो, भूकम्प, बाढी, सुख्खा, असिना, आँधी, भू–स्वखलन, अतिवृष्टि, अनावृष्टि, हिमपहिरो, हिमताल विस्फोट, आगलागी, तातोहावा, शीतलहर, ग्यास चुहावट, सर्पदंश, महामारी, चराचुरुङ्गीमा हुने फ्लु, चट्याङ, जनावर आतङ्क, दुर्घटना आदि विपद् जोखिमका क्षेत्र मानिन्छ । विपत्ति र मानवीय एवं भौतिक क्षतिले आर्थिक सामाजिक विकासको प्रक्रियामा अवरोध सिर्जना गर्दै आएको छ ।
पछिल्लो समयमा बारा र पर्सामा आएको टोर्नाडो आँधीबेहोरीले २९ जनाको ज्यान लिएको थियो । पछिल्लो एक सातामा मुलुकभर आगलागीका ६१, हावाहुरीका १०, चट्याङ्का सात, जनावर आतङ्कका चार र पहिरोका तीन घटना भएका छन् । गृह मन्त्रालयको ‘डिआरआर पोर्टल’मा जनाइएअनुसार सन् २०१८ देखि सन् २०१९ को यही मे महीनासम्म आगलागीमा ९४, पहिरोमा ८४, चट्याङमा ६६, हावाहुरीमा ३७ र जनावर आतङ्कबाट ३१ जनाको मृत्यु भएको छ ।
त्यस अवधिमा आगलागीबाट चार हजार १७२, हावाहुरीबाट चार हजार १४५, बाढीबाट एक हजार ७३, पहिरोबाट ७३२ र चट्याङबाट ४३६ परिवार प्रभावित भएका छन् । सो अवधिमा कैयौँ घाइते र बेपत्ता भएका छन् । मन्त्रालयका अनुसार विसं। २०७५ मा ४५५ र विसं २०७४ मा ५९७ जनाको प्राकृतिक विपत्तिबाट मृत्यु भएको छ ।