१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको प्रदेश सम्मेलन सुरु, प्रचण्डले गरे भर्चुअल उद्घाटन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश अधिवेशन सबै प्रदेशमा एकैसाथ सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल ‘दाहाल प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । 

विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न गर्ने माओवादीको योजना छ । सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । 

प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।  

माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।