काठमाडौँ । राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपापस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।
नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमामो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
आजसम्म सञ्चालन हुने सो मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु राखिएको उक्त कार्यक्रमको सह आयोजक आइएमइ समूह र आइएमइ ट्राभलले जनाएको छ ।
उक्त मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने बताइएको छ ।
उक्त मेलाको उद्घाटन गर्दै नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्माेले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो ।
इन्डोनेसिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रही आएको स्पष्ट गर्नुभयो ।
नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत ढकालले नेपाल र इन्डोनेसियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेसिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताउनुभयो ।
दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु जारी राखिएको उहाँले बताउनुभयो ।
पछिल्लो समयमा यी दुई देशका नागरिक एक अर्काे देशमा पर्यटकका रुपमा भित्रिने संख्यामा उल्लेख्य बृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न पद्दत पुग्ने ढकालले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो । (रासस)