२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सहयाेगमा निर्मित प्रसूति गृहको मूल भवन पुनःनिर्माण सम्पन्न, सेवा शुरू



अ+ अ-


काठमाडौँः भूकम्पले क्षतिग्रस्त परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको मूल भवन जापानी सहयाेगमा पुनःनिर्माण सम्पन्न भएको छ ।
नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभयो ।
“नेपालमा पहिलोपटक प्रसुति सेवाको विशिष्ट सेवा दिन निर्माण गरिएको अस्पताल ४० शथ्याबाट हाल ४०० भन्दा बढी शथ्यामा पुगेको छ, यसको अझ स्तरोन्नति हुनुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ” प्रधानमन्त्री अाेलीले भन्नुभयो ।

उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्रप्रसाद यादवले प्रसूति अस्पताललाई पनि स्वास्थ्य क्षेत्रको खोज अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लागिएको बताउनुभयाे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले एक हजार ९२८ स्वास्थ्य संस्थामा क्षति पुगेकामा ६९२ संस्था पुनर्निर्माणका लागि दातृ एवं गैर सरकारी निकायको सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
“भूकम्पले क्षति भएका स्वास्थ्य संस्थामध्ये ५४ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ, एक हजार १९७ स्वास्थ्य संस्था बन्न बाँकी छ, प्राधिकरणको बाँकी १८ महीने अवधिमा सबै पुनःनिर्माण सम्पन्न हुनेछ”–उहाँले भन्नुभयो ।
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गुणस्तरीय सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण र उपकरणकाे व्यवस्थाले ठूलाे सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि, अस्पतालका निर्देशक डा जागेश्वर गौतम लगायतले आधुनिक उपकरण सहितको भवनबाट गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
विसं २०१६ भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीका अवसरमा तत्कालीन स्व युवराज्ञी इन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा अस्पताल स्थापना भएको थियो । ४० शथ्याबाट शुरु भएको अस्पताल भूकम्प जानु अघिसम्म ४१५ शथ्यामा सञ्चालन भइरहेको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पपछि मूल भवनमा क्षति पुगेपछि मुस्किलले ३०० शथ्यासम्म चलाइएको थियो ।
तीन तलाको पाँच हजार ४१५ वर्गमिटर क्षेत्रफलमा फैलिएको भवनको भुइँ तलामा आकस्मिक सेवा, तीन वटा शल्यक्रिया कक्ष सहित प्रसुति सेवा रहने जनाइएको छ । भवनको पहिलो तलामा एकैपटक १० जनाको प्रसुति गराउन सकिने कक्ष, पर्याप्त कक्षा कोठा, सम्मेलन कक्ष, पुस्तकालय र प्राध्यापक कक्षको समेत व्यवस्था गरिएको छ ।


अस्पतालमा हाल नर्सिङमा स्नातक तहको अध्यापन भइरहेको छ भने दश जोड दुई तहको अध्यापन गराउन पूर्वाधार लगायत तयारी भइरहेको जनाइएको छ ।
अस्पतालले गत वर्ष २० हजार महिलाको प्रसुति गराएकामा यस वर्ष त्यो सङ्ख्या २३ हजार पुगिसकेको निर्देशक गौतमले सुनाउनुभयो । अत्याधुनिक भवन निर्माण भएसँगै वार्षिक ३० हजारसम्मको प्रसुति सेवा दिन सकिने अस्पतालले जनाएको छ । अस्पताल निर्माण, डिजाइन, सुपरिवेक्षण, परामर्श सेवा, फर्निचर, मेडिकल उपकरणका लागि रु दुई अर्ब ३६ करोड खर्च भएको थियो ।
यस आयोजना अन्तर्गत वीर अस्पतालमा समेत एउटा भवन निर्माण भयो । भवनको आजै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री यादवले उद्घाटन गर्नुभयो ।